मालढुङ्गा–बेनी खण्ड निर्माण द्रुत गतिमा

२०७८ फाल्गुन १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पर्वत, १२ फागुन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कतिपय पूर्वाधार विकास योजना अलपत्र परेका धेरै उदाहरण रहेकामा पर्वतमा सञ्चालित एक योजना भने सम्झौता समयावधिभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनी जुटेको छ । पर्याप्त सङ्ख्यामा मजदुर र उपकरण परिचालन गरेर एपेक्स–खड्का–कृष्ण जेभीले निर्माणलाई तीव्रता दिएको हो ।

राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडकखण्डको १३ किमी सडक स्तरोन्नति गर्ने उक्त योजनामा यतिखेर धमाधम काम भइरहेको छ । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म १५० मजदुर सडक बनाउने काममा परिचालित छन् । ठाउँठाउँमा उपकरण प्रयोग गरेर सडक विस्तार गर्ने काम गरिएको छ । गत २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ३१ हजार २८१ मा उक्त कम्पनीले ठेक्का सम्झौता गरेकामा सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले गत साउनदेखि सडक निर्माण थालेको थियो । तीस महिनामा सम्पन्न गर्ने गरी आयोजनाले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको र सम्झौतालगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको थियो ।

पर्वतको मालढुङ्गादेखि आठ किमीसम्मको खण्डमा मजदुर र उपकरण परिचालन गरेर काम गरिरहेको बेनी जोमसोम कोरोला सडक आयोजनाका इञ्जिनीयर मन्दा पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच किमीसम्मको खण्डको स्टक्चरको काम करिब सकिएको छ । सडक चक्ला बनाउने, नाली निर्माण र सडकको दुवैतर्फ रिट्रेनिङ वाल लगाउने काम सकिएको इन्जिनीयर पन्तले बताउनुभयो ।

कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माणका कामलाई तीव्रता दिएको निर्माण व्यवसायीको अहिलेको कामको गतिलाई हेर्दा सम्झौता समयावधि भित्रै सडक स्तरोन्नतिसहित कालोपत्र हुने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले राष्ट्रिय गौरवको सडक भएकाले आयोजना कार्यालयले पनि निरन्तर ताकेता र साइडको अनुगमनलाई प्राथमिकता दिएको बताउनुभयो ।

आगामी २०७९ को चैत मसान्तसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नति गरेर दुई लेनको सडक बनाउन लागिएको छ। मालढुङ्गादेखि बेनीसम्म १३ किमी सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । गत वर्ष यो सडकलाई बेनी–जोमसोम–कोरोला सडक योजनाअन्तर्गत राखेर सडक निर्माण गर्ने निर्णयका साथै बोलपत्र आह्वान भएपछि काम अघि बढाइएको थियो ।

हाल छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी अक्सपाल्ट प्रविधिको कालोपत्र गरिने आयोजनाले जनाएको छ । विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा बाटो निर्माण गरिएको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।सडक जीर्ण हुँदा मुस्ताङ र म्याग्दीको भ्रमणमा आउने पर्यटकले सास्ती भोग्नु्परेको थियो । सडकको दुरावस्थाका कारण पर्वत र म्याग्दीका राजनीतिक दलका नेताको समेत आलोचना हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय