औसा किरा कारण स्याङ्जामा गत वर्ष ३३ प्रतिशतले सुन्तला उत्पादनमा कमी

२०७८ फाल्गुन १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १६ फागुन । चालु वर्षमा स्याङ्जामा सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष १७ हजार ६ सय ३२ मेट्रिकटन सुन्तला फलेको स्याङ्जामा चालु वर्षमा भने १३ हजार ८ सय ४० मेट्रिकटन मात्रै सुन्तला फलेको छ । गत वर्षको तुलनामा यस वर्ष ३३ प्रतिशत सुन्तला उत्पादनमा कमी आएको छ ।

गत वर्ष १ हजार ६ सय ५५ हेक्टरमा सुन्तला खेति गरिएकोमा ७० प्रतिशत अर्थात १ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा १५.२ टन प्रति हेक्टर सुन्तला फलेको थियो । गत वर्ष १ हजार १ सय ६० हेक्टरमा ७९ करोड ३४ लाख ४० हजारको सुन्तला फलेको थियो भने ५५ करोडको सुन्तला निर्यात भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयाे ।

चालु वर्षमा भने १ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा १३ हजार ८ सय ४० मेट्रिकटन सुन्तला फलेको हो । स्याङ्जामा सुन्तला खेति १ हजार ९ सय ६९ क्षेत्रफलमा विस्तार गरिए पनि ५ सय ९० हेक्टर क्षेत्रफलमा रहेका सुन्तलाका बिरुवाले उत्पादन दिएका छैनन् ।

गत वर्ष ७९ करोड ३४ लाख ४० हजारको सुन्तला फलेको जिल्लामा चालु वर्षमा ७६ करोड १२ लाख रुपैँयाको सुन्तला फलेको छ । चालु वर्षमा ३ हजार ४ सय ६० मेट्रिकटन अर्थात २५ प्रतिशत १९ करोड २ लाख मुल्य पर्ने सुन्तला आन्तरिक रुपमा खपत भएको छ भने १० हजार ३ सय ८० मेट्रिकटन सुन्तला बिक्री हुँदा ५७ करोड ९ लाख आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उत्पादित सुन्तलाको २० प्रतिशत अर्थात २ हजार ७६ मेट्रिक टन सुन्तला स्थानीय बजारमै बिक्री हुँदा ११ करोड ४१ लाख सुन्तलाबाट आम्दानी हुँदा भने ८० प्रतिशत ८ हजार ३ सय ४ मेट्रिकटन सुन्तला जिल्ला बाहिर निर्यात हुँदा ४५ करोड ६७ लाख रुपैँया जिल्लामा भित्रिएको छ ।

गतवर्ष ४५ रुपैँयामा होलसेल बिक्री भएको सुन्तला चालु वर्ष भने ५० रुपैँयामा बिक्री भयो भने ७५ मा खुद्रा बिक्री भएको सुन्तला चालु वर्ष ५ रुपैँया बृद्धि भएर ८० रुपैँयामा बिक्री भएको छ । जिल्लामा सुन्तला टिपाई ९९ प्रतिशत सकिएको छ ।

सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएकाले जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुन्तला सुपरजोन परियोजना संचालनमा छ । सुपरजोन अन्र्तगत १ हजार ५ सय ९० हेक्टरमा र कृषि ज्ञान केन्द्र मार्फत ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

जिल्लाका पुतलीबजार, वालिङ्, भीरकोट, चापाकोट, गल्याङ नगरपालिकाका अधिकांश वडामा सुन्तला खेती गरिदै आएको छ । दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन । स्याङ्जामा उत्पादित सुन्तला पोखरा, बुटवल, नारायणघाट, काठमाण्डौंमा बिक्री निर्यात हुदै आएको छ ।

गत वर्षको तुलनामा चालु वर्षमा सुन्तला उत्पादनमा कमी आउनुको मुख्य कारण ‘औसा किरा’ रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित सुन्तलामा औसा किरा भन्ने रोग लागेका कारण सुन्तला उत्पादनमा कमी आएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय