वालिङलाई सुर्तीजन्य पदार्थ रहित नगर बनाउने प्रतिबद्धता

२०७८ फाल्गुन ३०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

वालिङ, ३० फागुन । वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणकालागि दश बुँदे प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा आज वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले दश बुँदे प्रतिबद्धता जारी गरेको हो ।

सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनकालागि ब्यापकरुपमा अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । नगरका सम्पूर्ण सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचबिखन गर्न पाउने ब्यवस्था मिलाउने, यसको लत छुटाउन सञ्चार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने ब्यवस्था मिलाउने, थप अध्ययन तथा अनुसन्धान गर्दै जाने रहेका छन् ।

त्यस्तैगरी जनसमुदाय तथा सरोकारवालाहरु (आमा समूह, शिक्षक, पत्रकार, युवाक्लब, टोल विकास संस्थाहरु) सँग सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि अन्तरक्रिया एवं छलफल गर्ने, नगरपालिकाको जनस्वास्थ्य ऐन २०७८ अनुसार सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि रणनीति तयार गर्ने, निरन्तर अनुगमन तथा सुपरभिजन गर्ने र वालिङ नगरपालिकालाई क्रमशः सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको उहाँले बताउनुभयो ।

“सुर्तीजन्य पदार्थ सेवन एक किसिमको लत हो, जुन हामीले जान्दा जान्दैपनि पैसा तिरेर रोग किनिरहेका छौं” उहाँले भन्नुभयो, “झट्ट हेर्दा यसको नियन्त्रण जटिल देखिन्छ तर सबैको सहयोग र सहकार्यबाट संभव छ ।”नेपाल सरकारले कानून बनाएको र त्यसको कार्यान्वयन स्थानीय सरकारले गर्नुपर्ने भएकाले पनि नगरपालिकाले यसको नियन्त्रण र नियमनलाई कडाईकासाथ कार्यान्वयनमा अगाडि बढ्ने उहाँले बताउनभुयो ।

“यसलाई जबर्जस्ती तबरबाटभन्दा पनि परामर्श र सचेतनामार्फत विस्तारै विस्तारै नियन्त्रण गर्दै जानेछौं” उहाँले भन्नुभयो, “आगामी केही वर्षपछि मापदण्डहरु पूरा गर्दै वालिङलाई सुर्तीजन्य पदार्थरहित नगर घोषणा गर्नेछौं ।”सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि २०६८ सालमा ऐन नियम आएको र यसको कार्यान्वयन पक्षलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित देशका केही पालिकाहरुमा अभियानकोरुपमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिनुभयो ।

“सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि मन्त्रालयबाट मात्रै नसकिने र अन्य विभिन्न संघ संस्था, कार्यालय तथा निकायहरुसँगको सहकार्यबाट मात्रै अगाडि बढ्दा बढी प्रभावकारी हुन्छ” निर्देशक शर्माले भन्नुभयो, “नगरपालिकाले जुन प्रतिबद्धता जनाएको छ यसबाट थप उत्साह तथा उर्जा मिलेको छ जसले भावी दिनमा राम्रो उपलब्धी हासिल हुनेमा हामी विश्वस्त छौं ।” सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि ऐन नियम आएपनि त्यसको कार्यान्वयन पक्षमा देखिएको कमी कमजोरीहरुलाई हटाउनु आवश्यक रहेको नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष कृष्णराज सिग्देल बताउनुहुन्छ ।

सुर्तीजन्य पदार्थको सेवनले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले यसको नियमन र नियन्त्रणकालागि सबैले आ–आफ्नो ठाउँबाट खबरदारी र कानूनको पालनामा ध्यान दिनुपर्ने अध्यक्ष सिग्देलको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय