स्याङ्जा जिल्ला अस्पतालमा रक्तसंचार केन्द्र स्थापना

२०७९ जेष्ठ २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २६ जेठ । स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका ३ कुमाल गाउँको स्याङजा जिल्ला अस्पतालमा रक्तसंचार केन्द्र स्थापना गरिएको छ । सरकारी र गैरसरकारी संस्थाको लामो समयको संयुक्त प्रयासपछि अस्पतालमा रक्तसंचार केन्द्र स्थापना गरिएको हो ।

पुतलीबजार नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको पहलमा रक्तदान कार्यक्रम गरी केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको पहिलो बैठकले अस्पतालमा मृगौला डायलाइसिस सेवालाई विस्तार र रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णय अनुसार केन्द्रको स्थापना गरिएको छ ।

नगरपालिकाले डायलाइसिस र रक्त संचार केन्द्र स्थापनाका लागि १० लाख रुपयाँ उपलब्ध गराउने निर्णया गरेसँगै केन्द्रको स्थापना र डायलसिस सेवा विस्तार गरिएको छ । १ सय २० पिन्ट रगत भण्डारण क्षमताको केन्द्रको पूर्ण रुपमा संचालनमा ल्याउन झण्डै २६ लाख लाग्ने नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्यालले जानकारी दिनुभयो ।

रगत अभावमा अकालमा नागरिकको ज्यान जानबाट रोक्न केन्द्र बनाउन आवश्यक थियो र रक्तदाता, सरोकारवाला र स्थानीय तहबाट सहयोग भएपछि केन्द्र बनाउन सफल भएको सभापति अर्यालले सुनाउनुभयो । स्थानीय तहको सहयोगले सेवा शुरुवात गरेको छौं, प्रदेश सरकारको सहयोगले पूर्ण क्षमताको केन्द्र संचालनमा आउने अर्यालले बताउनुभयो ।

जिल्ला अस्पतालमा केन्द्र स्थापनासँगै रगतको अभाबमा उपचारको लागि काठमाडौ सहित ठूला र महंगा शहरमा जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालको प्रमुख डा. रमेश आचार्यले बताउनुभयो । उनका अनुसार शल्यक्रिया मार्फत सुत्केरी गराउने र जटिल रोगका विरामीलाई रक्तसंचार केन्द्रले ठूलो राहत मिल्नेछ ।

अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीले रगतको अभावका कारण भोग्नु परेको समस्यालाई मध्यनजर गरी रक्तसंचार केन्द्र स्थापनामा पहल गरेको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । सेवा शुरुवात भएको छ, केन्द्रका प्रभावकारीता र व्यवस्थित बनाउन सबै निकायको सहयोग अनिवार्य भएको रेग्मीले बताउनुभयो।

रक्तसंचार केन्द्र स्थापनाका क्रममा गरिएको रक्तदानामा दिनेश अर्याल र महादेव श्रेष्ठले १९ औं पटक सहित जम्मा १७ जनाले रक्तदान गर्नुभएको थियो । रक्त संचार केन्द्रमा भण्डारण गरिएको रगत विरामीले निःशुल्क प्राप्त गर्ने छन् । रगत अभाव हुन नदिन रेडक्रस स्याङ्जा शाखाले रक्तदान कार्यक्रमलाई जिल्लाभर नियमित गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय