सरकारी जग्गासमेत बैना गरी ठगी गर्ने अधिकारीको अर्को अपराध : एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर २ जनालाई बेचेर साढे ३ करोड ठगी

२०७९ असार ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । 

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षीय केशवप्रसाद अधिकारीले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको पाइएको छ ।

पूर्वसञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिई तीन करोड ५० लाख रूपैयाँ ठगी गरेका हुन् । आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

व्यवसायी तामाङबाट ३ करोड ५० लाख लिएर अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको खुलेको प्रहरीले बताएको हो । सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मन्जुरीनामा दिइसकेका अवस्थामा पटक पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।

उक्त कम्पनीको सेयर किनेका पाण्डे भने कन्सल्टेन्सीको उक्त सेयर यसअघि बिक्री भइसकेको बारे आफूलाई जानकारी नभएको दाबी गर्छन् । हाल अधिकारी प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि उनी बिरामी परेको भन्दै वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

उनलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रशासनबाट दुई दिन म्याद समेत थपिएको छ । यसअघि पटकपटक विभिन्न मुद्दामा पक्राउ परेर पनि छुट्दै आएका अधिकारी यस पटक पनि आफूलाई ठगेर उम्किन्छन् कि भन्ने आशंका रहेको व्यवसायी तामाङ बताउँछन् ।

अधिकारीलाई सरकारी जग्गासमेत बैना गरी ५ करेाड २० लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्बिरसहित घटना विवरण सार्वजनिक गरेको थियो। उक्त दुई घटना सार्वजनिक भएसँगै हाल उनीबारे अन्य घटना समेत सार्वजनिक हुने क्रम बढेको छ । यसअघि उनी संलग्न रहेको अर्बिट एसोसिएटले समेत ललितपुर फाइनान्सको ३५ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय