प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री

२०७८ आश्विन २१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कर्णाली, २१ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गर्नुभयो । “सरकारको एक्लो प्रयासले विकास र समृद्धि असम्भव छ”, उहाँले भन्नुभयो, “यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य छ ।”

मुख्यमन्त्री शाहीले सडक निर्माण गर्नु मात्रै विकास हो भन्ने बुझाई नागरिकमा व्याप्त रहेको जनाउनुभयो । रोजगारीसहितको व्यापारिक योजनाबाट आम नागरिकमा सन्तुष्टि दिनु र आर्थिक गतिविधि बढाउनु पनि विकास होे भन्ने बुझ्न सुझाउँदै उहाँले कर्णालीमा विभिन्न क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई अनुकूल वातावरण तयार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको यो प्रदेशकै पहिलो ‘कर्णाली मल’ को प्रारम्भमा ५० जना युवालाई रोजगारी दिएको मलका प्रबन्ध निर्देशक सुशील शर्माले बताउनुभयो । कर्णालीको सापेक्षतालाई अध्ययन गरी यहाँका नागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गर्ने र दशवटै जिल्लामा सुविधा सम्पन्न कम्प्लेक्स बनाएर स्थानीय उत्पादनलाई व्यवस्थापन गर्ने उद्देश्यले मल सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक शर्माले जनाउनुभयो । उहाँका अनुसार दसैँ तिहारलाई लक्षित गरेर खाद्य वस्तुमा दुई र लत्ताकपडालगायत अन्यमा १०–१५ प्रतिशत छुट दिइएको छ । मलले विद्युतीय सामग्री, भाँडाकुँडा, लत्ताकपडा, सबै प्रकारका खेलौना बिक्रीवितरणका साथै उपभोक्ताका लागि होटल पनि सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय