स्याङ्जाको बिरुवा गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी

२०७९ जेष्ठ ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३ जेष्ठ । स्याङ्जाको बिरुवा गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका उम्मेदवार भगवती शर्मा विजयी हुुनुभएको निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

विजयी हुनुभएका कुँवरले चार हजार ८७२ मत प्राप्त गर्नुभएको हो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत ल्याउनुभयो । त्यस्तै उपाध्यक्षमा भगवती शर्माले चार हजार ९३७ मत ल्याएर विजयी हुँदै गर्दा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गर्नुभयो । आठवटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित तीन वडा अध्यक्षमा एमाले, चार वडा अध्यक्षमा कांग्रेस र एउटा वडा अध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा बिरुवा गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो । बिरुवा गाउँपालिकामा कूल १६ हजार ५९९ मतदाता रहेकामा १० हजार ४६० मत खसेको थियो । कूल मतदाताको ६३।०२ प्रतिशत मत खसेको बिरुवामा चार हजार ९८२ पुरुष र पाँच हजार ४७८ महिलाले मतदान गरेका निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय