स्याङ्जामा मनाइयो ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

२०८० पुष १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,१७ पौष । नेपाली काँग्रेस स्याङ्जाले सोमबार ४८ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति एवम् गण्डकी प्रदेश सांसद कल्पना तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्याङ्जामा क्रियासिल दुई जना पत्रकार र दुई मिडिया हाउसलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा नेपाल टेलिभिजनका जिल्ला सम्बादाता हिमाल न्यौपाने र पत्रकार युवराज पौडेल रहनु भएको छ भने मिडिया हाउस तर्फ रेडियो आधिखोला र हेर्ने कुरा डटकम रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य तिवारीले समाजमा पत्रकारको ठूलो महत्त्व रहेको हुँदा निष्पक्ष ढंगले पत्रकारिता गर्न आग्रह समेत गर्नुभयो । उहाँले वीपी बिचारलाई मर्न दिन नहुनेमा समेत जोड दिनुभयो । धेरै कुरा बोल्ने, गर्ने भन्ने, आश्वासन बाँड्ने तर ब्यवहारमा लागु नगर्ने जस्ता कार्यले आममानिसले वीपी र समाजवादको अनुभूत गर्न नपाएको भन्दै उहाँले दुख ब्यक्त गर्नुभयो ।

उत्पादनमा जोड दिनु पर्ने जनाउदै अब कृषिका क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । संघिय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै बिकासका बिभिन्न मोडल अघि बढाउनु पर्ने उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पूर्व सांसद शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश अर्थ विकास समितिका सभापति भोजराज अर्याल, पूर्वमन्त्री मेखलाल श्रेष्ठ, काँग्रेसका पूर्वसभापति विश्वप्रेम अधिकारी, पूर्व कार्यवाहक सभापति कुमार राना, स्तन्त्रता सेनानी तारापति सुवेदी र शालिकराम न्यौपाने, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य धु्रव शर्मा पंगेनी, महासमिति सदस्य भरतप्रसाद लम्साल, प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेश संयोजक जीवलाल काफले, नेपाली कांग्रेस जिल्ला सदस्य इन्दिरा केसी, महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, भीरकोट नगरप्रमुख गोबिन्दकुमार कर्माचार्य, आँधीखोला गाउँपालिका सभापति नरेन्द्र पौडेल, मुस्लिम संघ जिल्ला अध्यक्ष अलि मिया, तरुण दलका उपाध्यक्ष रविन केसी लगायतले सबै कांग्रेसी एकै मन मिलाएर अघि बढेमा नेपाली राजनीतिमा कुनै शक्ति र पार्टीले पनि बिचलन गराउन नसक्नेमा जोड दिदै आजैका दिनदेखि बलियो र एकढिक्का कांग्रेस बनाएर अघि बढ्नुको विकल्प नरहेको नेताहरुको भनाई छ ।

जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केदार काफलेले स्वागत एवं सचिव दामोदर लम्साल र सहसचिव धु्रववन्धु पौडेलले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार