ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीको माग

२०८० फाल्गुन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बुटवल,६ फागुन। ट्रक व्यवसायीहरुले ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २३ औँ साधारण सभा तथा १३ औं अधिवेशनमा बोल्दै ट्रक व्यवसायीहरुले यस्तो माग गर्नुभएकाे हाे । भारतीय ट्रकहरु नियम, कानुन विपरित ओभरलोड बोकेर चल्ने गरेको भन्दै तत्काल रोक्नुपर्ने उहाँहरुको माग छ । भारतीय ट्रकहरुलाई नेपालमा निर्बाध रुपमा चल्न दिनु नहुने ट्रक व्यवसायीहरुको माग छ ।ओभरलोड बोकेर नेपालमा चल्ने भारतीय ट्रकसँग नेपाली ट्रकले प्रतिस्पर्धा गर्न नसक्ने याताायात व्यवसायीहरुले बताउनुभयाे ।

लाखौँ मानिसलाई रोजगार दिएर राज्यलाई अग्रिम कर बुझाउँदै आएका ट्रक व्यवसायी संकटमा पर्दा पनि सरकार गम्भीर बन्न नसकेको उहाँहरुको गुनासो छ । सरकारले निर्धारण गरेको भाडा पनि नपाइएको ट्रक व्यवसायीहरुले गुनासो गर्नुभएकाे छ । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले तीनै तहका सरकारले यातायात कानुन बनाउनु पर्ने बताउनुभयाे। उहाँले यातायात व्यवसायीका माग सरकारले सम्बोधन नगरेकाले अधिकारका लागि व्यवसायिक एकता आवश्यक रहेको पनि बताउनुभयाे ।

उहाँले ट्राफिक प्रहरीको ज्यादति र ओभरलोड बोक्ने भारतीय ट्रककाविरुद्व आन्दोलनमा उत्रनुपर्नेमा जोड दिनुभयाे । त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारतीय ट्रकका कारण यातायात व्यवसायी आफ्नो पेशाबाट पलायन हुनु परेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार