नेपाल विद्यार्थी सङ्घले त्रिभुवन आदर्श क्याम्पसमा कलम वितरण र पुतलीबजारमा ज्ञापनपत्र

२०८१ बैशाख ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल
स्याङ्जा ,७ बैशाख । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जामा कलम वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेबिसङ्घको ५५ औँ स्थापना दिवसको अवसर पारेर बिहिबार बिहान क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका बिचमा कलम तथा चकलेट वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुकुमार सिग्देलले भोलिका देश हाँक्ने विद्यार्थीहरुमा राजनैतिक चेतना हुन आवश्यक रहेको बताउँदै अधिकारका लागि विद्यार्थीहरु सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल विद्यार्थी सङ्घ स्याङ्जाका सभापति गौरव प्रधानले विगतदेखि नै त्रिआ क्याम्पसमा विद्यार्थीका समस्याहरु र समाधानका उपायहरुका सम्बन्धमा आफूहरुले सधैँ चासो राखेको र धेरै समस्याहरु समाधान भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेबिसङ्घका केन्द्रीय सदस्य सुवास पौडेलले नेपाल विद्यार्थी सङ्घको इतिहास र आजको समकालीन राजनैतिक सन्दर्भमा नेबिसङ्घको भूमिका विषयमा धारणा राख्नुभयो । नेबिसङ्घ केन्द्रीय सदस्य सुनिल चापागाईँले रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि नैतिक रुपमै पदमा बसिरहनु उपयुक्त नभएको तर उनी पदमै बसिरहेकाले नेबिसङ्घले यस सम्बन्धमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका सभापति सबिन रेग्मी, नेबिसङ्घ क्याम्पस इकाइका सभापति सुजिल श्रेष्ठ, केन्द्रीय सदस्य रसिल भण्डारी, पश्चिमाञ्चल क्याम्पसका पूर्व नेबिसङ्घ सभापति प्रदीप पनेरु लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेबिसङ्घ सदस्य सन्ध्या लामिछानेले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व नेबिसङ्घ क्याम्पस इकाइका सभापति सुजिल श्रेष्ठले तथा सञ्चालन नेबिसङ्घ पुतलीबजार नगरका सभापति गोपी सुबेदीले गर्नुभएको थियो ।

नेबिसङ्घ स्याङ्जाले बिहिबार नै स्थापना दिवसको अवसरमा केन्द्रीय निर्देशन बमोजिम पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्ने, निशुल्क शिक्षाको अधिकार कार्यान्वयन हुनुपर्ने, शिक्षालाई प्रविधिमा जोड्दै किताबको भारी बोक्ने विद्यार्थीको बाध्यताको अन्त्य गर्नुपर्ने लगायतका मागहरुलाई ज्ञापनपत्रमा समावेश गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले ज्ञापन पत्रमा उठाइएका विषयहरु अत्यन्त महत्वपूर्ण रहेकाले यस सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुनिल चापागाईँ, नेबिसङ्घ स्याङ्जाका सभापति गौरव प्रधान लगायतका विद्यार्थी नेताहरु उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय