अध्यक्ष नियुक्ति हुनासाथ बिपिसीको वृद्धि महसुल घट्छ : प्रधानमन्त्री प्रचण्ड

२०८१ जेष्ठ १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौ,१८ जेठ । बुटवल पावर कम्पनी (बिपिसी) को अस्वाभाविक रुपमा भएको मुल्य वृद्धि फिर्ता हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेको उपभोक्ताको टाेलिकाे ज्ञापनपत्र बुझ्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।

विद्युत नियमन आयोगको सिफारिसमा जेठ १ गतेदेखि लागु हुने गरि बुटवल कम्पनीको आधिखोला जलविद्युत परियोजनाको मुल्य अस्वभाविक रुपमा मुल्य वृद्धि भएपछि यस क्षेत्रका उपभोक्ताले निरन्तर आन्दोलन गर्दै आएका छन् । आन्दोलनमा रहेका स्थानीयले शुक्रबार प्रधानमन्त्रीलाई सिंहदरबार पुगेर भेटेका थिए । सोही भेटका क्रममा प्रधानमन्त्रीले यस्तो आश्वासन दिनुभएको हो । उहाँले भन्नुभयो “आन्दोलनका कार्यक्रम रोक्नुहोस,विद्युत नियमन आयोगको अध्यक्ष नियुक्ति हुने बित्तिकै यो महसुल घट्छ ।”

विद्युत नियमन आयोगका अध्यक्षले कार्यकाल सकिन लागेको दुई दिन मात्र बाकी हुँदा मुल्य वृद्धि गरेर अवकाश हुनुले यसमा धेरै आशंका गर्ने ठाउँ रहेको भन्दै मुल्य वृद्धि फिर्ता हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो “अहिले धेरै भन्दिनँ केही गडबड छ अध्यक्ष नियुक्ति हुने बित्तिकै मुल्य वृद्धि घट्छ ।” उहाँले विद्युत नियमन आयोगको अध्यक्ष रिक्त हुँदा तत्काल निर्णय गर्न नसकिएको भन्दै अध्यक्ष नियुक्ति हुने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।

ग्रामीण परियोजना अन्तर्गत २०३९ सालमा स्थापना भएको आधिखोला जलविद्युत परियोजनाले स्थानीयलाई जग्गा अधिकरणको कुनै मुवाब्जा नदिएको र पछिल्लो समय नाफामा मात्रै केन्द्रित भएको भन्दै स्थानीयहरुको मुल्य वृद्धिको बिरोध गर्दै आएका छन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै सयुक्त संघर्ष समितिका संयोजक श्याम प्रसाद बस्यालले स्थापनाको समयमा स्थानीयसंग साझेदारी गर्ने भन्दै स्थानीयलाई तार तान्न लगाउने,पोलका खल्टा खन्न लगाउने,पोल बोक्न्न लगाउने,तर तान्न लगाउने,त्यति मात्रै नभएर जग्गाको मुआब्जा समेत नदिएको परियोजना पछिल्लो समय नाफामा मात्रै केन्द्रित भएको उहाँको भनाइ थियो । संयोजक बस्यालले भन्नुभयो “सुरुमा हामीलाई सेवा गर्न आएको भन्दै जग्गाको मुआब्जा पनि दिएन,तार हामी आफै तानेउ,पोल हामी आफै गाडेउ अहिले आएर नाफा घाटाको मात्रै कुरा आउछ ।” उहाँले नाफा घाटाको मात्रै कुरा गर्ने हो भने विद्युत प्राधिकरणकाे बराबरमा मुआब्जा पाउनुपर्ने र पहिले काम गरेको पनि हिसाबकिताब हुनुपर्ने तर्क राख्नुभयो । मुल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने तर्क गर्दै बस्यालले प्रधानमन्त्रीलाई यस बिसयमा गम्भीर हुन आग्रह समेत गर्नुभएको छ ।

पाल्पा बाट प्रतिनिधिसभा सदस्य बन्नु भएका ठाकुर गैह्रे सहित सिंहदरबार पुगेको टोलि लाई प्रधानमन्त्री प्रचण्डले मुल्य वृद्धि घट्ने भन्दै धैर्य हुन आग्रह गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय