गोदावरीका प्रमुख र उपप्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ जेष्ठ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ २२ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरीका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रविन कोइराला, वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र विश्वराज मरासैनीसहित १४ जनालाई प्रतिवादी बनाएर सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएका नगरप्रमुख महर्जन र उपप्रमुख अधिकारी २०७४ र २०७९ सालमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

उहाँहरूकै योजना र मिलेमतोमा ५ वर्षअघिदेखि विभिन्न ५ वटा निर्माण कम्पनीलाई तोकिएकोभन्दा न्यून राजस्व दर कायम गरी ठेक्का लगाइएको अख्तियारले जनाएको छ । प्रतिवादीविरुद्ध १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ बिगो मागदाबी गरिएको छ । अख्तियारले हिनामिनामा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजस्व शाखा प्रमुख तथा बाँकी ठेकेदार र कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले आव ०७५र७६ देखि ०७९/८० को अवधिमा वन तथा अन्य सार्वजनिक क्षेत्रबाट उत्खनन गरिएका ढुंगा, गिट्टी, बालुवालगायत निर्माणजन्य खनिज पदार्थको बिक्रीबापत प्राप्त हुने राजस्व रकम हिनामिना गरेको अभियोगमा नगरपालिकाका पदाधिकारी, कर्मचारी तथा ठेकेदारसहित १४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको बताउनुभयो ।

नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय