नेकपा एसको दशौं राष्ट्रिय महाधिवेशन: एक हजार ८०० प्रतिनिधि छनोट

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ असार। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार ८०० प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार महाधिवेशनका लागि एक हजार ८४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।

अधिकांश स्थानमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताइने । उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।

यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेसँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौं महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताइन् ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसदमा १० र राष्ट्रियसभामा ८ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय