हिमाल जि.सी.
काठमाडौँ ,२३ असार । महामना योगमाया दिवसको अवसरमा पुरस्कार, सम्मान प्रदान गरी नेपाल स्रष्टा समाजले ‘स्रष्टा दर्पण’को लोकार्पण सभ्य र भव्य रूपमा सम्पन्न गरेकाे छ ।
उक्त साहित्यिक कार्यक्रममा नेपाल स्रष्टा समाजले वार्षिक रुपमा प्रदान गर्ने ९ पुरस्कारमध्ये दुई पुरस्कार “योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान” माननीय शान्ता चौधरीलाई र “योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान” कविता चापागाईलाई प्रदान गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न “महामना योगमाया दिवस” कार्यक्रम दिव्य शताब्दी पुरुष तथा मानव अधिकावादी अगुवा डा. गौरी शंकरलाल दासको प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । नेपाल स्रष्टा समाजका महासचिव देविका तिमिल्सिनाले सञ्चालन गर्नु भएको सो कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रमकाे स्वागत मन्तव्य समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ले गर्नुभएकाे थियाे ।
नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले विशिष्ट नारी स्रष्टाहरूलाई “योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान” प्रदान गर्ने उद्देश्यले वि.सं. २०६५ सालमा स्थापना गरी प्रत्येक वर्ष योगमाया दिवसका दिन रु.२५,१११।– नगद राशीसहित यो सम्मानपत्र प्रदान गरिन्छ । त्यसैगरी “योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान” योगमायाको व्यक्तित्वबारे खोज, अनुसन्धान तथा प्रकाशन गर्ने स्रष्टालाई प्रदान गर्ने लक्ष्यका साथ राजेश न्यौपाने, केदारप्रसाद न्यौपाने, श्रीमती दीपा न्यौपाने र श्रीमती अर्लिन पर्ज नेउपानेले वि.सं. २०७५ सालमा स्थापना गरेको यो सम्मान रु.५०,१११।– नगदराशीसहित सम्मानपत्र प्रदान गर्ने गरिन्छ ।
नेपाल स्रष्टा समाजले समाजका संरक्षक कथाकार परशु प्रदान स्मृति अङ्क “स्रष्टा दर्पण पूर्णाङ्क ३१” को लोकार्पण गरेको थियो । वि.सं. १९९८ असार २२ गते भोजपुरको मझुवाबेंसी, अरुणनदीमा ६८ जना अनुयायीहरूका साथ जल समाधि लिएको स्थान देख्न रहर लागेको कुरा प्रमुख अतिथिले व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा सम्मानित स्रष्टा माननीय शान्ता चौधरीले जल समाधीका लागि आफुसहित अनुयायीहरूलाई उत्प्रेरित गर्न सक्ने क्षमताकी योगमायाको जन्म अहिले पनि आवश्यकता भएको कुरा बताउँदै आफुले सानै उमेर आफू जस्तै बच्चाहरू झोला बोकेर स्कुल गएको देख्दा र आफू कम्लरीको रूपमा जमिन्दारको घरमा काम गर्नु परेको बताउँदै ३७ वर्षको उमेरमा आफ्ना बच्चाहरूसँग क,ख सिकेर हाल स्नातक दोस्रो वर्षमा आफूले अध्ययन गरिरहेको जानकारी दिदै नेपाल स्रष्टा समाजले प्रदान गरेको यो पुरस्कार कम्लरीबाट दुःख पाएका महिलाहरूको निम्ति खर्च गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो– “दिनभरि काम नगरी छाक टार्न नसक्ने गरिब मान्छेले राजनीति गर्न र राजनीतिमा टिक्नै सक्दैन ।” उहाँले थप्नुभयो– “यस्तो नेपालको राजनीतिक अवस्थामा कमलरीदेखि सभासद्, स्रष्टादेखि उद्यमीसम्मको आफ्नो संघर्ष पनि चानेचुने रहेको छैन ।”
त्यस्तै अर्को सम्मानित स्रष्टा कविता चापागाईले विद्यालयका पाठ्यक्रममा समेत योगमायाबारे प्रकाशित विषय, तथ्य पुस्तकअनुसार फरक भई विद्यार्थीमा भ्रम उत्पन्न हुने गरी अध्ययन अध्यापन गराइएकोले एकरूपता ल्याउन जरुरी रहेको कुरा उजागर गर्नुभयो । डा. निलम कार्की निहारिकाले निर्माण गर्नुभएको योगमाया वृत्तचित्र प्रदर्शन गरिएको उक्त कार्यक्रममा सह आयोजकको तर्फबाट न्यौपाने बन्धु समाज, नेपालका अध्यक्ष बलराम न्यौपाने, कथाकार परशु प्रधानका छोरा वरिष्ठ पत्रकार प्रतीक प्रधान, पुरस्कार संस्थापक मध्येबाट राजेश न्यौपाने लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, साहित्यकार जयदेव भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. सदानन्द कडेल, माधव बिडारी ‘चेतनपथ’का साथै थुप्रै विशिष्ट साहित्यकारहरू उपस्थिति रहेको थियो ।
नेपाल स्रष्टा समाजले आजीवन विशिष्ट सदस्य बनेका नयाँ सदस्यहरूलाई प्रमाण पत्र समेत वितरण गरेको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ले योगमायाको योगदानको चर्चा गर्दै आफूले सोचेभन्दा बढी विशिष्ट स्रष्टाहरूको बाक्लो उपस्थिति देख्दा आफुलाई खुसी लागेको कुरा व्यक्त गर्नुभयो ।