प्रधुम्‍न पनेरू मावि बस खरिदको अभियानमा जुट्यो

२०८१ श्रावण ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,४ साउन । आँधीखोला गाउँपालिकाको पुरानो र प्रसिद्ध विद्यालय प्रधुम्‍न पनेरू माध्यमिक विद्यालय बस खरिदको अभियानमा जुटेको छ ।

विद्यालयको सेवा क्षेत्रका विद्यार्थीहरू विद्यालय बाहिरका विद्यालयतिर आकर्षित हुन थालेपछि विद्यालयले बस खरिदको योजना बनाएको हो । यस वर्ष विद्यालयले भाडामा बस खोजेर विद्यार्थीलाई सेवा दिएको भए तापनि विद्यालयले आफ्नै बस खरिद गरी बस सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेको विद्यालयका अध्यक्ष ख्यामनारायण देवकोटाले बताउनुभयो ।

यस विद्यालयको सेवा क्षेत्र सेतीदोभान, कृषि, ओहिया,जुग्ले, सेपत, सिम्खेत लगायतका ठाउँहरूमा निजी विद्यालयका बसहरूको चाप बढ्दै गएपछि विद्यार्थी रोक्नका लागि विद्यालयले बाध्य भएर बस खरिदको अभियान थालेको विद्यालयका प्रधानाध्यापक दिप्तीनारायण शर्माले बताउनुभयो ।

प्रअ शर्माले भन्नुभयो, “सेवा क्षेत्रमा विद्यार्थी सहजताका लागि विद्यालय बस खरिद तथा सञ्चालन गर्ने योजनाका साथ विद्यालय अभियानमा जुटेको छ । यसका लागि वि.व्य.स.को बैठकले निर्णय गरी विद्यालय बस विनियमावली २०८१ पारित गरेको छ ।”

उक्त विनियमावली अनुसार छुट्टै उपसमिति गठन गरी विद्यालय आर्थिक सङ्कलनमा जुटिसकेको विद्यालयका शिक्षक हिमराज पौडेलले बताउनुभयो । यसका लागि विद्यालयले शिक्षाप्रेमी,चन्दादाता,पूर्व विद्यार्थी लगायत सबैमा सहयोगको अपील समेत गरेको छ ।

उक्त आर्थिक स्रोत व्यवस्थापनको लागि विद्यालय बस नियमावली २०८१ को परिच्छेद ४ नियम नं ११ बमोजिम अभिलेख व्यवस्थापन गरिने भएको छ ।

सहयोग गर्न चाहने व्यक्तिहरूले सिद्धार्थ बैंक सभागृहचोक ,पोखराको श्री प्रधुम्‍न पनेरु मा.वि.को नाममा रहेको खाता नं ५५५०६४६४३४८ मा रकम जम्मा गर्न सकिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय