कृषकसँग कृषि प्राविधिक कार्यक्रमबाट गल्याङका पाँच हजार बढि कृषक लाभान्वित

२०८१ कार्तिक १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,१६ कार्तिक । गल्याङ नगरपालिकाले सञ्चालन गरेको कृषक सँग कृषि प्राविधिक कार्यक्रमबाट पाँच हजार बढि कृषक परिवार लाभान्वित भएका छन् ।

नगरपालिकाको ग्रामिण क्षेत्रका किसानहरुलाई लक्षित गरेर असोज १४ गते सुरु भएको कार्यक्रमबाट पाँच हजार एक सय १७ कृषक परिवार लाभान्वित भएका हुन् । कार्यक्रम पालिकाको वडा नम्बर १ देखि ११ सम्म संचालन गरिएको थियो ।

एउटा वडामा तीन देखि सात ठाउँसम्म गरी ६८ ठाउँमा कार्यक्रम सम्पन्न भएको गल्याङ नगरपालिकाले जनाएको छ । नगर प्रमुख गुरुप्रसाद भट्टराईले गएको वर्ष जस्तै यस वर्ष पनि कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । भट्टराईले गएको वर्षको कार्यक्रममा तल्लो वर्गमा रहेका कृषकहरु सम्म फाइदा पुगेको पाइएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको स्पष्ट पार्नुभयो ।

भट्टराईले भन्नु्भयो,’ जो गाउँघरमा १-२ वटा भैसी बाख्रा पालेर १-२ वटा खेतबारीमा कृषि गरेर बसिरहेका साना किसानहरु लाई राज्य छ, स्थानिय सरकार छ, गुनासा समस्या राख्ने ठाउँ छ भन्ने बिश्वास दिलाउन यो कार्यक्रम संचालन गरिएको हो ।’ कृषि बाट गुजारा चलाइरहेका कृषकलाई निकै लाभदायक कार्यक्रम रहेको उहाँको भनाइ थियो । नगर प्रमुख भट्टराईले फर्म सञ्चालन गरेका कृषकहरु नगरपालिका सम्म आएर सुविधा लिएको भएपनि कहिल्यै नगरपालिकासम्म नआएका साना किसानहरु यो कार्यक्रमबाट लाभान्दीत भएको समेत बताउनुभयो ।

नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले यो कार्यक्रमबाट नगरको सेवाबारे टोल सम्म जानकारी दिन सहयोग पुगेको बताउनुभयो ।

गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख भीम क्षेत्रीले किसानका टोल सम्म पुग्दा साना किसानका समस्याहरु प्रत्यक्ष हेर्न र समाधान गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले गुजारा चलाइरहेका किसानहरुका लागि कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।

नगरप्रमुखका सचिवालय प्रमुख ज्ञानेन्द्र पाठकले कृषकसँग कृषि प्राविधिक कार्यक्रममा किसानहरुलाई कृषि र पशु सम्बन्धी जानकारी समेटिएको हाते पुस्तिका र उन्नत विउ विजन वितरण पनि गरिएको बताउनुभयो । यो कार्यक्रमबाट दुरदराजमा रहेका साना किसानहरुले आफ्ना समस्या राख्न र समाधान गर्न पनि बाटो पाएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय