काठमाडौं, २७ पुस । नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर नहुने बताएका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढङ्गले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डा माथि उठाउने उत्साहमा कमी नहुने बताएका हुन् ।
रावलले एमाले नेतृत्वको स्वेच्छाचारी, राष्ट्रिय हित विपरीतका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे । उनले आफूलाई बदनाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे ।
देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने जिकिर गर्दै उनले देशको आवश्यकता भए वैकल्पिक शक्ति निर्माण गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।