संगम भण्डारी
स्याङ्जा,२१ माघ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा आज विध्या तथा संगीतकी देवी सरस्वतीको पूजा हर्षोल्लासका साथ सम्पन्न भएकाे छ ।
विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा धार्मिक तथा सांस्कृतिक माहोल छाएको थियो।
कार्यक्रमको शुरुवात विधिपूर्वक सरस्वती माताको पूजाआराधनासहित भयो। विद्यार्थीहरूले भजन, श्लोक वाचन तथा नृत्य प्रस्तुत गरी पूजाको माहोललाई थप भक्तिमय बनाए। यस अवसरमा विद्यालयका प्रधानाध्यापक चुरामणी पाण्डेले शिक्षा र संस्कृतिको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई अनुशासन र ज्ञानको मार्गमा अघि बढ्न प्रेरित गर्नुभयो।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर १ का अध्यक्ष मणिप्रसाद बस्यालले सरस्वती पूजाको ऐतिहासिक तथा धार्मिक पृष्ठभूमिबारे जानकारी गराउँदै भन्नुभयो, “विद्या, विवेक र संगीतकी देवी सरस्वतीको कृपाले विद्यार्थीहरूमा ज्ञान, सृजनात्मकता र आत्मविश्वासको विकास हुन्छ।”
पूजापछि प्रसाद वितरण तथा सामूहिक भोजको आयोजना गरिएको थियो। विद्यार्थीहरूले देवी सरस्वतीसँग आफ्नो अध्ययन तथा भविष्य उज्ज्वल बनाउन प्रार्थना गरेका थिए।
विद्यालय व्यवस्थापन समितिले यस प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा नैतिक शिक्षा अभिवृद्धि गर्ने भएकाले आगामी वर्षहरूमा अझ भव्य रूपमा सरस्वती पूजा आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्यो।