अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र

२०८१ चैत्र १६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ चैत । नेकपा (माओवादी केन्द्र) ले राजवादीहरूले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा मच्चाएको हिंसात्मक प्रदर्शनको कडा भर्त्सना गरेको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा आपराधिक र अराजक क्रियाकलापमा संलग्न तथा उक्साहट दिने योजनाकार र प्रदर्शनका आयोजकलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

विज्ञप्तिमा शुक्रबारको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा प्रदर्शनकारीहरूले विध्वंसात्मक कार्य गरेको आरोप लगाइएको छ।

प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु हुनुका साथै नेकपा (एकीकृत समाजवादी) को कार्यालय, सञ्चार गृह, औषधि कारखाना, डिपार्टमेन्ट स्टोर तथा अन्य सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको घटनालाई गम्भीर आपराधिक कार्यका रूपमा लिँदै माओवादी केन्द्रले ती सबै घटनाको निन्दा गरेको छ।

माओवादी केन्द्रले यस्ता हिंसात्मक र आपराधिक गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन, दोषीलाई गम्भीर अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गर्न र विधिको शासन कायम गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार