क्रान्ति अर्याल
स्याङ्जा, १६ चैत। स्थानीय मुस्लिम महिलाहरु व्यवसायिक रूपमा आत्मनिर्भर बन्ने लक्ष्यसहित लाछाको डोरी बनाउने सीपलाई अपनाउँदै आएका छन् ।
यसैबीच उक्त सीपलाई अपनाएको अनुभव बताउनुहुन्छ पुतलीबजार नगरपालिका वडा नं. ३ की अनुसा मियाँ ”पहिले कुनै सीप नभएपछि घरधन्दा मात्रै गरेर बस्नुपरेको थियो अब भने लाछाको डोरी बुन्ने सीप सिकेर आम्दानीको बाटो खोल्ने सोच बनाएको छु।”
त्यस्तै अर्का स्थानीय जमिना बानु पनि यही अभियानमा सामेल हुनुभएको छ । उहाँले भन्नुभयो, “परिवारको पालनपोषणका लागि केही सिप सिक्नुपर्छ भन्ने लागेको थियो, जुन आज पूरा भएको छ । सिकेको सीपलाई प्रयोग गर्दै बजारसम्म पुर्याएर बिक्री गर्ने योजना बनाएको छु ।”
स्याङ्जा जिल्लाका मुस्लिम समुदायका महिलाहरुको आर्थिक सशक्तिकरण गर्ने उद्देश्यसहित सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा नुरी इस्लामिक मदरसा स्कुलको प्राङ्गणमा १० दिने सीपमूलक तालिम शनिबार सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले यस प्रकारका कार्यक्रमहरुले लक्षित समुदायका महिलाहरूलाई व्यवसायिकता वृद्धि गर्दै आर्थिक रूपले सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले मुस्लिम समुदायको परम्परागत सीपलाई आधुनिक व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य कार्यालयको रहेको बताउनुभयो । सीप सिकेर आत्मनिर्भर बन्ने अवसर प्राप्त भएकाले यसको सही उपयोग गर्नु आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मुस्लिम समाज बाडखोलाका वरिष्ठ उपाध्यक्ष शाह खालिद मियाँले मुस्लिम महिलाहरूको सीप विकास र सशक्तिकरणका लागि गरिएको यो प्रयास अनुकरणीय भएको बताउनुभयो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, वडा नं। ३ का वडासदस्यहरू सोमबहादुर नेपाली, हाजी अमिर बक्स मियाँ, बाडखोला मुस्लिम समाजका पूर्व अध्यक्ष हाजी सेर अलि मियाँ लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
उक्त तालिममा स्याङ्जा जिल्लाका २० जना मुस्लिम समुदायका महिलाहरू सहभागी भएका थिए । बाडखोला मुस्लिम समाजका सचिव अली महोम्मदले सन्चालन गर्नुभएको कार्यक्रममा समाजका सहसचिव अमिर आलमले स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रम पुतलीबजार नगरपालिका र बाडखोला मुस्लिम समाजको समन्वयमा सम्पन्न भएको हो ।