काठमाडौं, १५ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार दिउँसो आफूसहित पार्टीका नेताहरूलाई ताली बजाउँदै नारा लगाएर स्वागत गरेको स्पष्टीकरण दिएका छन् ।
उनले विभिन्न सञ्चारमाध्यममा आफूहरूलाई आन्दोलनरत शिक्षकले ‘यहाँ नआउनू’ भन्दै आएका समाचारप्रति आपत्ति जनाउँदै यस्तो स्पष्टीकरण दिएका हुन् ।
‘शिक्षकहरूले हामीलाई खेदेका होइनन्, स्वागत गरेका हुन् । ताली बजाएर, नारा लगाएर, मुठ्ठी उचालेर हामीले नारामा साथ दिएका थियौं,’ अध्यक्ष नेपालले भने ।
सोमबार दिउँसो नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता दिन भन्दै नेपालसहित एकीकृत समाजवादीका नेताहरू पुगेका थिए । सो क्रममा शिक्षकहरू आफ्नो आन्दोलनमा नभइ संसद्मा बोल्नुपर्ने भन्दै ‘यहाँबाट गइदिनुस्’ भनेका थिए ।
तर, अध्यक्ष नेपालले घटना त्यस्तो नभइ शिक्षकहरूले भव्य स्वागत गरेको जिकिर गरे ।
‘सोही अनुसार हामी शिक्षकको आन्दोलनलाई ऐक्यबद्धता जनाउनका लागि पुगेका थियौं । पार्टीका नेता र संसद्मा भएका सांसदहरूको पंक्ति त्यहाँ पुगेका थियौं,’ उनले भनेका छन्, ‘शिक्षकहरूले भव्य स्वागत गर्नुभयो । हामीले शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जारी गर्यौं ।’
अध्यक्ष नेपालले शिक्षकहरूमा अझै धेरै उत्साह र मनोबल बढेको आफूहरूले पाएको पनि बताएका छन् ।
‘बाहिर गरिएका स्टन्टबाजीका कुनै अर्थ छैन । यो कुरालाई प्रष्ट पार्न चाहन्छु । शिक्षक र आम जनताका जायज मागका लागि उभिएका छौं ।’