स्याङ्जामा आगलागीबाट लाखौको क्षती

२०८२ बैशाख २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २३ बैशाख । स्याङ्जामा आगलागीका घटना बढ्न थालेका छन् । केही दिन यता जिल्लाका विभिन्न स्थानमा आगलागी भइरहेको छ । आगलागीले घर, गोठ जलेका छन् भने वनजङ्गलमा आगलागी हुँदा बन्यजन्तुको मृत्युसँगै खानेपानीका पाइप जलेर नष्ट भएका छन् ।

पछिल्लो एक हप्तामा मात्रै पुतलीबजार, वालिङ, गल्याङ् र अर्जुनचौपारी लगायतका पालिकाका विभिन्न स्थानमा आगलागी भएको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ । सामुदायिक वन तथा खरबारीहरूमा आगलागीका घटना बढेको वन कार्यालयको भनाइ छ । केही दिनको अन्तरालमा मात्रै धेरै ठाउँमा आगलागी भएको छ जसका कारण धेरै धनमाल नष्ट भएको छ ।

पछिल्लो समय सामुदायिक र राष्ट्रिय वनको तुलनामा व्यक्तिगत सम्पत्तिमा आगलागीले ठूलो क्षति पु¥याएको छ । चालु वर्षको हालसम्म जिल्लामा १७ स्थानमा आगलागी हुँदा दुई सय ६ हेक्टर जंगल जलेर नष्ट भएको छ । गत वर्षको सोहि अवधिमा एक सय १३ स्थानमा आगलागी हुँदा १८ सय ८ हेक्टर जंगल सखाप भएको थियो ।

पुतलीबजार र वालिङ विभिन्न स्थानमा लागेको आगोका कारण ५० लाख बरारबको व्यक्तिगत पसल, घरगोठ सहित धनमाल नष्ट भएको छ । गएको शुक्रवार र शनिवार आगलागीले अहिलेसम्मकै सबैभन्दा ठुलो क्षती पु¥याएको डिभिजन वन कार्यालयका प्रमुख नबराज बरालले जानकारी दिनुभयाे ।

शुक्रवार वालिङ ६ मिर्दिमा रहेको सिरक डसना उद्योगमा आगोलागी हुँदा १४ लाख ५० हजार क्षती पुगेको छ । नुवाकोट मेगन गाउँपालिका वडा नं.–६ घर भएका रमेश तामाङले आलमदेवी सिरक डसना उद्योग सञ्चालन गर्दै आएका थिए । वालिङ ५ बडहरेका टेकबहादुर खड्काको धन्सार र गोठा भएको आगलागीबाट ५ लाख बराबरको क्षती पुगेको बताइएको छ ।

उता पुतलीबजार ७ मा खिमबहादुर खत्रीको घरगोठमा आगलागी हुँदा पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट २ तले ढुङ्गा माटो र टिनले छाएको कच्ची घरमा विद्युत सर्ट भई आगो लाग्दा जलेर नष्ट भएको थियो । आगलागीबाट सुनका गरगहना ६ तोला, नगद ७० हजार, भाडाकुडाँ सहित लत्ताकपडा जलेर नष्ट हुँदा २० लाख बराबरको क्षती पुगेको प्रहरीले उल्लेख गरेको छ ।

यस्तै, वालिङ नगरपालिका–१२ भन्ज्याङ् तिलाहरेमा आगलागी हुँदा तीन गोठ जलेर नष्ट भएको छ । स्थानीय कमलकान्त न्यौपानेको बाख्राफर्म पूर्णरूपमा जलेर नष्ट भएको छ भने फर्मसँगै रहेका दुई गोठ जलेर नष्ट भएको वडा अध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए । वालिङ नगरपालिका–८ भिमटारीमा आगलागी हुँदा खानेपानीको पाइप जलेर नष्ट भएको छ । ११ पालिका रहेको स्याङ्जामा प्रायः सबै पालिकामा आगलागीको घटना भएको प्रहरीले जनाएको छ ।

अर्जुनचौपारी गाउँपालिकामा आगलागी हुँदा १० लाख बराबरको धनमाल नष्ट भएको छ । अर्जुनचौपारी गाउँपालिका–६ का ८० वर्षीय बुद्धिबहादुर नेपालीको घर र गोठमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जङ्गलमा लागेको आगो बस्तीमा पस्दा घर र गोठ जलेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय