क्रान्ति अर्याल
स्याङ्जा, २४ वैशाख । समाजसेवा र मानवीय सहकार्यको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ‘मगर संसार’ फोटो ग्यालरी ग्रुपले स्याङ्जा चापाकोट नगरपालिका–३, पिपल डांडामा एक असहाय परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ ।
घर निर्माणको प्रमुख पहल दक्षिण कोरियामा कार्यरत मगर संसारका संस्थापक अध्यक्ष तथा अभियन्ता अनिल लामिछाने मगरले गर्नु भएको थियो । स्व। टुक बहादुर बिर्कट्टा मगरको परिवारलाई लक्षित गरी लगभग ५ लाख १५ हजार रुपैयाँको लागतमा सो घर निर्माण गरिएर एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
स्व। टुक बहादुर क्यान्सर पीडित हुनुहुन्थ्यो र उहाँको उपचारको लागि सन् २०८१ माघ ९ गते मगर संसारद्वारा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । तर दुर्भाग्यवश उहाँको उपचारकै क्रममा माघ १५ गते पोखरामा निधन भयो । संकलित रकम घर निर्माणमा प्रयोग गर्ने निर्णय गरिएपछि थप सहयोग संकलन गरिएको थियो ।
अभियानबाट जम्मा ६ लाख ३ रुपैयाँ उठेको थियो । जसमध्ये ५ लाख १५ हजार ४ सय ३५ रुपैयाँ घर निर्माणमा खर्च गरिएको अध्यक्ष अनिल लामिछानेले जानकारी दिनुभयो । त्यस्तै बाँकी रकमबाट स्व। बिर्कट्टाको परिवारलाई खाद्यान्न, लत्ताकपडा, जिंसी सामग्री तथा नगद सहयोग प्रदान गरिएको थियो ।
घर हस्तान्तरण कार्यक्रममा मगर संसारका एडमिन टोलीसहित स्थानीयको समेत उल्लेखनीय उपस्थिति रहे थियो । घर निर्माण रेखदेखको जिम्मेवारी क्याप्टेन बोम बहादुर थापा मगरले लिनु भएको थियो भने खर्च विवरण पनि उहाँले नै उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष लामिछाने मगरका पिता केश बहादुर लामिछाने मगरको अध्यक्षता रहेको थियो । समाजसेवी दुर्गा सारु मगरले स्वागत मन्तव्य राख्नुभएको थियो र कार्यक्रम सञ्चालन मगर संसारकी एडमिन शान्ति राना मगरले गर्नुभएको थियो ।
पिपल डांडाको टयाङ्च लाम आमा समूहले मगर संसार टोलीलाई फूलमाला र आतिथ्य साथ स्वागत, खानपान र आवासको समेत व्यवस्था गरेको थियो ।
नयाँ घर प्राप्त भएपछि बिर्कट्टा परिवारले खुशी व्यक्त गर्दै सहयोगदाताहरु र मगर संसार परिवारप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।
त्यसैगरी मगर संसारले हालसम्म २६९ वटा सहयोग कार्यक्रम सम्पन्न गरिसकेको छ । ३ करोड रुपैयाँ भन्दा बढी सहयोग संकलन भई विभिन्न समुदायका पीडित, विरामी र गरिब परिवारहरुलाई राहत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।