काठमाडौं,२४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउदो नभएको बताउनुभएको छ ।
गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमका भाषा देशका बिशिष्ट व्यक्तिहरुलाई अनादर हुने प्रकारको रहेको र सुहाउदो नभएको बताउनुभएको हो ।
उहाले कसैले पनि नेपाली भाषाको कद घटाउने काम गर्न नहुने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको जिकिर गर्नुभयो ।
मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि दिएको गोरखापत्रले दिएको योगदानको उहाले प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने र झुटलाई सही भनेर फैलाउने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार एवं संस्थानका पूर्व अध्यक्ष विजय चालिसेलगायत उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।