प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल

२०८२ बैशाख २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२४ बैशाख । प्रतिनिधिसभा बैठकमा बुधबार पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

छलफलका क्रममा सत्तारुढ दलका सांसदहरुले नीति तथा कार्यक्रमको प्रतिरक्षा गरेका छन् भने बिपक्षी सांसदहरुले सरकारको कार्यक्रमको विरोध गरेका छन् । छलफलका क्रममा कांग्रेस सांसद एनपी साउदले नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाएर अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

उहाले स्रोत सुनिश्चित नभएका आयोजनालाई अघि बढाउन नहुनेमा जोड दिनुभयो । शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउने कुरालाई सत्ताको बार्गेनिङको माध्यम बनाउन नहुने भन्दै उहाले यसलाई छिटै टुङ्गोमा पुराउनुपर्ने बताउनुभयो । .

त्यस्तै एमाले सांसद ईश्वरबहादुर रिजालले व्यवस्था परिवर्तन गर्ने कुरामा एक भएजस्तै अवस्था परिवर्तनका लागि पनि एक हुनुपर्ने बताउनुभयो । मुलुकको उपलव्धीलाई संरक्षण गर्ने प्रति सरकारको नीति तथा कार्यक्रम दृढ भएर उभिएको उहाको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले सरकारको नीति तथा कार्यक्रम निराशाजनक भएको बताउनुभयो । यादवले राष्ट्रिय गौरवका आयोजना अलपत्र भएकाले यसलाई व्यवस्थित गराउँदै लानुपर्ने, आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै रास्वपा सांसद बिराजभक्त श्रेष्ठले सरकारको अहिलेको नीति तथा कार्यक्रम यथास्थीतिको निरन्तरता मात्रै भएको टिप्पणी गर्नुभयो । अर्थतन्त्रप्रति सरकारको चिन्ता नै नभएको जस्तो देखिएको उहाले बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार