स्याङ्जा, २४ वैशाख । गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङले वर्तमान सरकार जनताको अपेक्षा अनुसार चल्न नसकेको बताउनुभएकाे छ । जनताका आवश्यकता भन्दा पनि सरकार आफ्नो आवश्यकतामा केन्द्रित रहेको बताउनुभएकाे हाे । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको फेदीखोला गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका गुरुङले सरकारले खुलमखुला भ्रष्टाचार गर्ने र सुशासनका खोक्रा नारा लगाउने गरेको आरोप लगाउनुभयाे ।
‘जनताले देख्ने र भोग्ने गरी सरकारले दिनहुँ भ्रष्टाचार गरेको छ’ गुरुङ भन्नुहुन्छ, ‘जनताको माग के छ ? कसरी सम्बोधन गर्ने भन्दा पनि आफूअनुकूलको काममा रमाइरहेको सरकारले अझै घाँटी फुलाउने गरी सुशासनका गफ दिन्छ ।’ राप्रपा गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका गुरुङले सरकारका गतिविधिले नै जनता व्यवस्थाप्रति बोल्न थालेको बताउनुभयाे । ‘अहिलेसम्म जनता चुप थिए’ उहाँले थप्नुभयाे, ‘सरकारको रवैयाले नै जनताले व्यवस्था उल्टाएर राजतन्त्र ल्याउन सडकमा उत्रिएका छन् । हामी पनि चुप थियौ । संघिय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुख पाउँछन् भने हामी मौन बस्नुपर्छ भनेर मौन बस्यौ । तर, जनताले सुख भन्दा पनि दिनहुँ दुख पाइरहे । सरकारले खुलमखुला भ्रष्टाचार गर्न थाल्यो आजित भएर हामी पनि व्यवस्थाकाविरुद्ध सडकमा उत्रिएका छौ ।’ अव जनताको अवस्था बदल्न व्यवस्था बदल्न जरुरी रहेको उहाँले बताउनुभयाे । सांसद गुरुङले स्याङ्जा जिल्लाको विकासमा आफू सधै अग्रपंक्तिमा रहने विश्वास दिलाउनुभयाे ।
गाउँ परिषद् (अधिवेशन) ले फेदीखोला–२ प्रेमनगर निवासी प्रेम गुरुङको अध्यक्षतामा १५ सदस्यीय गाउँ कार्यसमिति चयन गरेको छ । यस्तै पालिकाका ५ वटै वडामा वडाध्यक्ष पनि निर्विरोध निर्वाचित हुनुभएकाे छ । निर्वाचन समितिका अनुसार वडा नम्बर १ मा राजेश गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । यसैगरी, २ नम्बर वडामा राजकुमार केसीको अध्यक्षतामा ९ सदस्यीय समिति रहेको छ भने, तीन नम्बरमा नारायणी थापाको अध्यक्षमा ९ सदस्य, ४ नम्बरमा नरेश गुरुङको अध्यक्षमा ९ सदस्य र ५ नम्बर हिमलाल पाैडेल सहित ९ जना समिति गठन गरिएको छ । अधिवेशनमा काँग्रेस–एमाले पार्टी परित्याग गरि ५० जना युवा राप्रपा प्रवेश गरेका छन् ।