प्रकाश डोटेल
स्याङ्जा, १ जेठ । चापाकोट नगरपालिका–९ पाकरीमा सिँचाइका लागि डिप बोरिङ निर्माणलाई तिब्रता दिईएको छ । डिप बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका दुई सय रोपनी भन्दा बढि क्षेत्रफलमा सिँचाइ र कृषि उत्पादनमा बृद्धि हुने विश्वासमा डिप बोरिङको कामलाई तिव्रता दिईएको हो ।
भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय गण्डकी प्रदेश नवलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणको काम सकिएको छ । पहिलो चरणमा प्रदेश सरकारले विनियोजन गरेको २० लाखबाट डिप ट्युबेल खन्ने काम भएको बताउदै सिनियर सब–इन्जिनिर मुकेश विकले दोस्रो चरणमा पम्प जडान गर्न घर निर्माण, विद्युत जडान र वितरणको काम हुने बताउनुभयाे ।
प्रति सेकेन्ड दुई लिटर मात्रै पानी निस्केको हुँदा धान खेती गर्नका लागि नभए पनि नगदे बालिका लागि पानी प्रशस्त पुग्ने सब–इन्जिनियर विकको भनाइ छ । क्रमागत योजना भएको हुँदा प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गरेमा अर्को वर्ष योजना सम्पन्न हुने बताउँदै विकले भन्नुभयाे, ‘योजना सम्पन्न गर्न झण्डै ५० लाख लागत अनुमान गरिएको छ ।’
जिल्लामा यसअघि भिरकोटमा दुई वटा डिप ट्युबेल खन्ने काम सम्पन्न भएको छ । भीरकोटको डिप ट्युबेलमा प्रति सेकेन्ड १९ लिटर पानी निस्कने गरेको छ । ज्याग्दी सिँचाइबाट बञ्चित र आकाशे पानीको भरमा खेत गरिरहेका चापाकोट नगरपालिका–९ पाकरीका ४० घरधुरीका स्थानीयले आउँदो वर्षदेखि सिँचाइको पानी प्रयोग गरी खेतीपाती गर्न पाउने गरी काम अगाडी बढाएको सिँचाइ समितिका अध्यक्ष मणि खनालले बताउनुभयाे ।
वोरिङ सञ्चालन भएसँगै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले किसानले व्यावसायिक नगदे बाली तथा तरकारी खेती गर्न पाउने छन् । चापाकोट नगदे बालीमा जिल्लामै प्रख्यात क्षेत्र हो । चापाकोटमा उत्पादित तरकारी जन्य वस्तुहरु जिल्लाकै वालिङ तथा पाल्पाको रामपुर, तनसेन र रुपन्देहीको बुटवलमा निकासी हुँदै आएको छ ।
उता डिप बोरिङबाट सिँचाइको सुविधा पाउने भएपछि स्थानीयले पाकरी खोला बहुउद्देश्यीय जलशायको डिपिआर अन्यौलमा परेकोमा चिन्ता व्यक्त गरेका छन् । चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को बजेटमा जलशाय आयोजनाको डिपाआर गर्न बजेट विनियोजन गरेपनि थप प्रक्रिया अझै सुरु नसक्दा उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
कृषि, पर्यटन र रोजगारीका धेरै सम्भावनामा बोकेको बहुउद्देश्यीय जलशाय आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भएको थियो । बहुउद्देश्यीय जलशाय आयोजनाको डिपिआर गर्न नगरपालिकाले उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा प्रस्तुत गरे पनि पालिकाले विभिन्न बाहाना बनाएर प्रक्रिया अगाडि नबढाएपछि स्थानीय चिन्तीत बनेका छन् ।