मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न सांसद सुमना श्रेष्ठको माग

२०८२ असार २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २९ असार। राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीपरिषद्मा रहेका केहि मन्त्रीहरुको सेटिङ बाहिर आएको भन्दै त्यसको छानविन गर्न माग गर्नुभयो । कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको बिषय बाहिरिएको भन्दै छानविन हुनुपर्ने उहाले बताउनुभयो । त्यस्तै श्रेष्ठले भिजिट भिसा प्रकरणमा सदनमा निरन्तर आन्दोलन हुदा पनि भिजिट भिसामा मानवतस्करी गर्ने काम नरोकिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रमबाट थप पुष्टि भएको उहाले बताउनुभयो ।

श्रेष्ठले भिजिट भिसाको प्रकरणमा यसअघिको कार्यदलको रिपोर्ट दराजमा थन्किएर बसेको भन्दै अहिले बनाएको कार्यदलको पनि कुनै औचित्य नभएको उल्लेख गर्नुभयो । उहाले भिजिट भिसाको प्रकरणमा संसदीय समिति नवनेसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले पनि भिजिट भिसाका नाममा निरन्तर मानवतस्करी भएको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न सरकार डराएको बताउनुभयो । उहाले संसदीय समिति नभएसम्म आफुहरुको आन्दोलन जारी रहने जिकिर गर्नुभयो । त्यस्तै शाहीले केहि महिना अघि खानेपानीमन्त्रीले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज नहुने प्रतिवद्धता जनाएपनि अहिले खारेज भएको भन्दै आपत्ति जनाउनुभयो ।

उहाले जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारवाही हुनुपर्ने उल्लेख गर्नुभयो । श्रेष्ठ र शाहीले धारणा राखेपछि दुई दलका सांसदहरुले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय