स्याङ्जामा आयोजित खुला कविता प्रतियोगितामा सुन्दर शिरीषको ‘देश फर्किरहेको देश’ कविता प्रथम

२०८१ भाद्र १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा ,१ भदौ । स्याङ्जामा पहिलोपटक सम्पन्न राष्ट्रिय कविता महोत्सव एवं राष्ट्रिय खुल्ला कविता प्रतियोगितामा सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘देश फर्किरहेको देश’ सर्वोत्कृष्ट कविता बनेको छ । बिहिबार स्याङ्जाको सिटी हलमा आयोजित राष्ट्रिय कविता महोत्सवमा शिरीष सर्वोत्कृष्ट घोषित हुनुभएको छ ।

प्रतियोगितामा राजन सुबेदी दीपक (झापा) को “हराएको देश” द्वितीय, चन्द्रवती अधिकारी (बाँके) को ’अ आए” तृतीय र विनायक पन्त (तनहुँ) को ’ब्रह्माण्ड मस्तिष्क’ र सम्झना थापा मगर (स्याङ्जा) को ’सम्झनु त्यही मेरो देश हो’ सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथमले १५ हजार ५५५, द्वितीयले ११ हजार १११, तृतीयले सात हजार ७७७ र सान्त्वनाले तीन हजार ३३३ रुपियाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे ।

पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा देशभरबाट आएका १९९ कवितामध्ये छनोट भएका २० कविताका सर्जकहरुले कविता वाचन गर्नुभएको थियो । २० मध्येबाट उत्कृष्ट ५ कवितालाई पुरस्कृत गरिएको खुल्ला कविता प्रतियोगिताका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पुष्प चन्द्र ट्रस्ट स्याङ्जाको आयोजना तथा पुतलीबजार प्रज्ञा प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको सह आयोजनामा नेपाली भाषा, कला, संस्कृती, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान भन्ने मूल नाराका साथ महोत्सव एवं प्रतियोगिता गरिएको हो । महोत्सवमा नेवा परम्पराको लाखे लगायत सांस्कृतिक, विभिन्न जातजातिका भेषभूषा, झाँकी प्रदर्शन सहित साहित्यिक यात्रा समेत गरिएको थियो ।

कार्यक्रममा पुष्प–चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट अमोर सेवा नेपाल (वाल गृह) फेदीखोला गाउँपालिका १ र एसइई २०८१ मा जिल्ला टपर सुशान मरासिनीलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय