खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु

२०८१ मंसिर २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिरहा, २६ मंसिर । सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो ।

यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिए । उनका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल रु चार हजार दुई सय तोकेको छ ।

जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान खरिद गरिने प्रमुख सुनारले बताए । “सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा धान खरिद समितिको बैठकबाट निर्णय गरी आजदेखि खरिद प्रक्रिया सुरु गरिएको छ । खाद्य कम्पनीले तोकिएको मापदण्ड पूरा गरेर ल्याइएका धानको चेकमार्फत किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।

सरकारले दिने मूल्यभन्दा स्थानीय व्यापारीले दिने मूल्य बढी भएकाले किसानहरू व्यापारीलाई धान बिक्री गर्न आकर्षित भएका राष्ट्रिय कृषक समूह महासङ्घ, मधेश प्रदेशका निवर्तमान अध्यक्ष मुक्तिनारायण यादवले बताए । किसानको उत्पादनको उचित र वैज्ञानिक मूल्य नदिएर सरकारले किसानलाई अन्याय गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय