स्याङ्जामा ह्वात्तैबढ्यो आलु उत्पादन,एकैदिनमा प्याकभयो शीतभण्डार (भिडियाे सहित)

२०८१ चैत्र १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुबास रेग्मी

काठमाडौं,१३ चैत ।  वालिङको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थाले सञ्चालनमा ल्याएको शीतभण्डारमा ३३० जना कृषकले आलु भण्डारण गरेका छन् ।

सूचना गरिएको पहिलो दिनमा नै क्षमताभन्दा धेरै आलु आएको सहकारीका व्यवस्थापक युवराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार शीतभण्डारमा ४५ टन अर्थात चार हजार पाँच सय किलो आलु भण्डारण गरिएको छ । शीतभण्डारको क्षमता ५२ टनको भए पनि केही कम आलु राखिएको उहाँले बताउनुभयो ।

वालिङको शीतभण्डारमा आलु राख्न नपाएका कृषकहरुलाई जिल्लाका अन्य शीतभण्डारमा राख्ने व्यवस्था मिलाइएको व्यवस्थापक रेग्मीले बताउनुभयो । सहकारीले आफ्ना सदस्यहरुका लागि एक बोरा अर्थात ५० केजी आलु भण्डारण गरे वापत चार सय लिने गरेको छ भने सदस्य नरहेका कृषकहरुका लागि ४४० रुपिँया निर्धारण गरिएको सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताउनुभयो । यो रकमबाट बिजुली, आलुको बोरा फर्काउने लगायतका लेवर आदिमा खर्च गरिने उहाँको भनाइ छ ।

प्रति महिना बिजुलीको बिल मात्रै ३५ देखि ४० हजारसम्म आउने गरेको अध्यक्ष अर्यालले बताउनुभयो । कृषकलाई सहजता गराउँदा संस्थाको सञ्चालन खर्च समेत नउठेको उहाँको गुनासो छ । आठ महिना अर्थात आगामी २०८२ कात्तिक सम्म आलु भण्डारण गर्नु पर्दा खर्च धान्नै समस्या आउने गरेको भन्दै अध्यक्ष अर्यालले राज्यले कृषकको हितमा काम गरिरहेका सहकारीलाई छुट्टै रुपमा हेरेर सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

जिल्लामा एक हजार टन क्षमताको शीतभण्डारण आवश्यक रहेको उहाँको भनाइ छ । केही समय अगाडिसम्म आलु भण्डारणका लागि भैरहवा जानु पर्ने बाध्यता रहेको भन्दै सहकारीले काम सुरु गरेपछि आफ्नै ठाउँमा आलु भण्डारण गर्ने अवसर कृषकले पाएको अर्यालले बताउनुभयो ।

शीत भण्डारणमा राखिएको आलुमध्ये अधिकांश बीउ आलु रहेको छ भने केही खानका लागि प्रयोग हुने आलु समेत रहेको सहकारी संस्थाले जनाएको छ । वालिङ–५ का कृषक हुमनाथ लामिछानेले सबैभन्दा धेरै आलु भण्डारण गर्ने कृषक बन्नुभएको छ उहाँले तीन हजार पाँच सय किलोग्राम आलु भण्डारण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार