पूजा खड्का
स्याङ्जा, १६ असार । लागू पदार्थ र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चार जना चालक प्रहरीले नियन्त्रणमा लिएकाे छ । एक जना मादक पदार्थ सेवन र तीन जना लागू पदार्थ सेवन गर्ने चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
सडक दुर्घटना न्यूनीकरण गर्ने यात्रुलाई सुरक्षित राख्ने उद्देश्य सहित जिल्ला प्रहरी कार्यालय स्याङ्जा द्वारा जेठ ६ गते बाट सुरुवात गरिएको वालिङ्ग नगरपालिका वडा नम्बर १ राम्बाच्छा स्थित सिद्धार्थ राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन चेक जाचको क्रममा चार जना चालक फेला परेका हुन।
शुक्रबार पक्राउ पर्नेमा ग ३ प ६९ नम्बरको मोटरसाइकल चालक पर्वत जिल्ला पैयु गाउँपालिका वडा नंबर ४ बस्ने वर्ष २३ का हिमाल सेन ठकुरी, लु १ ह १७३९ नम्बरको अटो चालक जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ घर भई हाल वालिङ्ग नगरपालिका २ बस्ने वर्ष २४ का दीपक घर्ती, लु ७० प ४६३७ नम्बरको मोटरसाइकल चालक वालिङ्ग नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४७ का दीपक सुनार र मादक पदार्थ सेवन गरी शनिबार एम्बुलेन्स चलाएका ग २ च ५६८४ नम्बर को एम्बुलेन्स चालक आँधीखोला गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८ घनश्याम पौडेल रहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। नीजहरुलाई नियन्त्रणमा लिई आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जा बाट १० दिनको म्याद थप अनुमति लिई वडा प्रहरी कार्यालय वालिङ्ग स्याङ्जा बाट कानुनी प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।