म्याग्दी, ५ असार । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित हुनुभएको छ । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी हुनुभएको हो ।
उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको थियो । सदस्यमा कृष्णदत्त पौडेल पाध्या, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन, कविता विक, गौमती चपाई, धनकुमारी सुनार र जानकी विश्वकर्मा निर्विरोध हुनुभएको थियो ।
जिसस प्रमुखमा निर्वाचित थापा एमाले जिल्ला कमिटि उपसचिव हुनुहुन्छ । जिससमा एमालेका सात, कांग्रेसका तीन र माओवादी केन्द्रका दुईसहित १२ मतदाता थिए ।