कालीगण्डकी गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

२०७९ श्रावण २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२० साउन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती थालेकामा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । बीउ राखेको ९० दिनमा उत्पादन लिन सकिने छ । गाउँपालिका तथा कृषक समूहले विशेष गरी दसैँ तिहारलाई लक्षित गरेर फूलखेती सुरु गरेका छन । गाउँपालिकाले यसवर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट ४०० सम्म फूल उत्पादन हुने र विभिन्न चरणमा आगामी चैतसम्म टिप्न सकिने छ ।

यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनीमा सयपत्री फूलखेती गरि गाउँपालिका आफैँले फूलखेती गरेर उत्पादित फूल बिक्रीबाट मनग्य आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि यसको व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

गाउँपालिकाले व्यावसायिकरुपमा फूलखेती गर्नका लागि नर्सरी राखेको विर्घामा पालिकाका सबै वडाबाट छनौट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिइएको साथै खनजोतदेखि फूल उत्पादन हुँदासम्म गाउँपालिकाले प्रतिरोपनी नौ हजारका दरले अुनदान उपलब्ध गराउने छ । उत्पादित फूल तथा माला कृषक समूह वा कृषकले आफैँ बिक्री गर्न पनि सक्ने तर बिक्री नभएमा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाउने छ । पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र कृषक समूह छनौट भएका हुन् । कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनीसम्म जग्गामा व्यावसायिक फूलखेती गर्नेछन् ।

गत वर्ष गाउँपालिकाले परीक्षणकारुपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यसवर्षदेखि कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराईएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुुभयो। पालिकाले नर्सरी राखेको स्थानमा नै सबै कृषक समूह तथा व्यक्तिलाई बोलाई प्राविधिक ज्ञान, नर्सरी स्थापना, औषधि, बीउ तथा आधुनिक औजार उपलब्ध गराएको छ । कृषक समूह तथा व्यक्तिले यहाँ सिकेका सीपलाई आआफ्नो ठाउँमा प्रयोग गर्नु भएको छ खाली रहेको जग्गामा यसरी फुल खेती गर्न सके केही राहत हुन्छ कि भनेर सुरु गरेको कृषक चिन्तामणी अधिकारीको भनाई छ । कोहि कसैको भर नपर्नी गरि आफैले काम गरेर खानको लागि यो फुल खेतीको लागि अन्य अरु खेती लाई जस्तो धेरै दुख गर्नु नपर्ने हुदा काम गर्न इच्छुक भएको कृषक थिरलाल अधिकारीले बताउनुुभयो । भाईटिकामा फुलको अभाब हुन नदिन स्थानिय क्षेत्रमै फुल खेति गरिएको र गाउमै सयपत्रि फुल फुल्दा रमाईलो हुने साथै फुल सौन्दर्यताको लागि मात्रै नभएर हरेक पुजा आजामा पनि प्रयोग हुने भएका कारण बजारिकरणको समस्या नभएको कृषक निर्मला पान्डेले बताउनुुभयो ।

फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार