बैंशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैं घण्टा सञ्चालन हुने

२०८० चैत्र २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २९ चैत । बैंशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालिन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ बर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालिन व्यवसाय सञ्चालन गर्ने जानकारी दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्ने उनीहरुले जनाएका छन् । आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालिन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरुको भनाइ छ । ठमेलको भगवान बहाल क्षेत्रभित्रका व्यवसायीहरुले भने पूर्णकालिन व्यवसाय सञ्चालन गर्न पाउनेछैनन् ।

पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूर्णकालिन व्यवसायका कारण आर्थिक गतिविधि चलायमान हुने र थप रोजगारी सिर्जना हुने बताउनुभयो । ठमेलमा ६० हजारले रोजगारी पाएको र धेरै परिवार यसमा आश्रित रहेको भन्दै उहाले सरकारले बनाएको आचारसंहिता अनुसार व्यवस्या सञ्चालन गर्ने धारणा राख्नुभयो ।

त्यस्तै दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले पूर्णकालिन व्यवसाय सञ्चालन हुँदा साना साना व्यापारिहरुलाई व्यवसायको थप वातावरण बनेको बताउनुभयो । उहाले पूर्णकालिन व्यवसायका लागि आवश्यक सुरक्षा लगाएतका बिषयमा सरकारले प्रतिवद्धता जनाएको जिकिर गर्नुभयो ।

ठमेल र दरबारमार्ग लगाएतका क्षेत्रमा पूर्णकालिन व्यवसाय गर्ने बिषयमा यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरोकारवाला निकायसंग छलफल गर्नुभएको थियो । प्रहरीले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार