किन जाने मातापिता पुजन एवम् दामोदर महोत्सवमा

२०८१ कार्तिक १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशा भट्टराई

कार्तिक १६, स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेशको स्याङ्जा र पाल्पा जिल्लाको बीच एउटा नदी छ जसलाई आम नेपाली आमाको दर्जा दिइएकाे छ । कालीगण्डकी अर्थात् शालग्राम शिला पाइने संसारकै एक मात्र नदी । संसारका सबैजसो नदीहरू उत्तरबाट दक्षिणतिर बग्छन् । तर ,जहाँ नदीहरू दक्षिणबाट उत्तरतिर बग्छन् ती ठाउँहरूको विशेष महिमा हुन्छ । पाल्पातर्फ रम्भा १,असेर्दी र स्याङ्जातर्फ गल्याङ १, मालुङ्गा, यी दुई ठाउँ उत्तरवाहिनी कालीगण्डकीको पवित्रताको साक्षी बन्ने अवसर पाएका छन् । यही उत्तरवाहिनी गण्डकीको तटमा कार्तिक महिनाभरि विराट महायज्ञ चलिरहेको छ ।

कार्तिक महिनालाई मालुङ्गावासीहरु दामोदरमासका रूपमा उत्सवपूर्वक मनाउँछन् । बिहानै प्रतिदिन गण्डकीस्नान गर्छन् , साँझ गण्डकीको आरति गर्छन् र गाउँलेहरू मिलेर बेलुकी भजनकीर्तन गर्छन् । यो शृङ्खलाको २३ औं वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना भएको छ ।

स्याङ्जा जिल्ला हुँदै बग्ने एउटा खोला छ, आँधीखोला । पुराणमा वर्णित श्रवणकुमार र उनका अन्धा पिता अन्धी आमाको आँसुको परिणामस्वरूप बगेको खोलाका रूपमा यहाँका व्यक्तिहरू यसलाई लिन्छन् । श्रवणकुमारजस्ता मातापिताका भक्तहरूको भूमि स्याङ्जाबाट संसारलाई मातापिताको भक्ति सिकाउने विशाल अभियानका साथ यतिबेला स्याङ्जा जुर्मुराएको छ ।

यस कार्यक्रममा स्वयं सन्तान नै आमाबुबाका साथमा उपस्थित हुन्छन् र पितमाताको पूजन गर्छन् । देश विदेशका सन्त एवं विद्वानहरूको प्रवचन भइरहेको छ भने नियमित रूपमा योग एवं संस्कृत शास्त्रका अभ्यासको शिविर पनि सञ्चालन भइरहेको छ ।

कालिगण्डकीको तटमा एउटा संस्कृत गुरुकुल छ, जहाँ सयौं विद्यार्थीहरू आवासीय सुविधासहित निःशुल्क अध्ययन गरिरहेका छन् । भक्तहरूको दान सहयोगकै सहारामा चलिरहेको यो गुरुकुल स्थायी र मजबुत आर्थिक स्थितिको पर्खाइमा छ । यस यज्ञबाट सङ्कलित द्रव्यदक्षिणा यसै गुरुकुलको सञ्चालनमा उपयोग गरिने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण महाराजको भनाइ छ ।

कार्तिक ९ देखि ३० सम्म चल्ने मातापिता पुजन एवम् दामोदर महोत्सवमा देशका विभिन्न स्थानबाट दूरदूरबाट पनि भक्तहरु आइरहनुभएको छ। यहाँ आएर गण्डकीमा स्नान गरेर यहाँको सौन्दर्य देखेर र यो कार्यक्रमको प्रवचनबाट र भजनबाट अनेकौं व्यक्तिहरु रमाइरहनु भएको छ र यस क्षेत्रमा उत्तरवाहिनी क्षेत्र स्याङ्जा जिल्ला र पाल्पा जिल्ला दुवैतिर छ। गण्डकीले दुवै जिल्लाको सिमा छुट्टएको छ गण्डकी प्रदेशतर्फ स्याङ्जा जिल्ला र पाल्पातर्फ लुम्बिनी प्रदेश छ । दुवै क्षेत्रका मन्त्रीहरू दुवै क्षेत्रका विभिन्न व्यक्तिहरु यस कार्यक्रममा उपस्थित हुनुहुनेछ र राष्ट्रिय रुपमा पनि केन्द्रीय मन्त्रीहरु केन्द्रीय विभिन्न कलाकारहरु राष्ट्रिय विभिन्न स्तरका विभिन्न व्यक्तिहरूको पनि यहाँ गरिमामय उपस्थिति हुने अध्यक्ष चैतन्यकृष्णले बताउनुभयो । विभिन्न ठाउँ बाट आमा समुह र अन्य धार्मिक एवम् आध्यात्मिक महानुभावहरुको उपस्थित रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय