काठमाडौं, १७ वैशाख । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिचको वार्ता सुरू भएको छ । शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको वार्ता सुरू भएको हो ।
आजको वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारीसहित महासङ्घमा आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरू समेत उपस्थित छन् । हिजो अबेर रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो ।
आज दुवै पक्षले अन्तिम रूप दिने जनाएका छन्। महासङ्घका महासचिव तुला बहादुर थापाले हिजोको वार्ता सकारात्मक भएको र आजको छलफलले थप सार्थकता पाउने बताए ।
महासङ्घले पेस गरेको ९ बुँदे प्रस्तावमाथि सहमतिको प्रयास खोजिँदै छ । आजको वार्तामा सहमति जुटेको खण्डमा सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नेछ ।
ती मागहरूमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सात वटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी / करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ ।