विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

२०८० चैत्र २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं ,२९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारीहरू र कार्यकारी सदस्यहरूको समेत उपस्थिति रहेको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताउनुभयो ।

उहाँले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताउनुभयो । उहाँले सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो।

अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिनुभयो ।

उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौं आएको थियो । पुरी वार्षिक साधारण सभामा मुख्य वक्ता थिए ।

प्रतिनिधिमण्डलमा भारतका छ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएको थियो । भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफू खुसी भएको बताउनुभयो ।

उहाँले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताउँदै नेपाल सरकारसँग सहजीकरणको माग गर्नुभयो । महासंघका अध्यक्ष ढकालले महासंघमा रहेको एफडीआई हेल्प डेस्क मार्फत महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने बताउनुभयो ।

उहाँले आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी रहेको छ ।

दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो । गत वर्ष महासंघ र सीआईआईले संयुक्त रुपमा भारतमा नेपाल इन्डिया बिजनेस समिट आयोजना गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय