उत्पादन बढाउन स्याङ्जामा आधुनिक खोर निर्माण

२०८२ बैशाख २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २१ बैशाख । वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा उत्साहित भएर लागेका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधार कार्यक्रम सञ्चालन गरेसँगै कृषकहरु खोर निर्माणमा उत्साहित भएर लागेका हुन् ।

परम्परागत र अस्तव्यस्त तबरबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन् । पालिकाले बाख्राको नश्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई पे्ररित गर्दै आएको नगरपालिकाले जनाएको छ ।

अनुदानमा आधुनिक खोर निर्माण गरेकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै उत्साह छाएको बताउनुभयाे । उहाँले भन्नुभयाे “परम्पारगत र अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अब व्यवस्थित हुने भयो ।” हाल १२ वटा बाख्रा पाल्दै आउनुभएकी मल्लले आधुनिक खोर निर्माणसँगै बाख्राको संख्या थप्ने योजना बनाएको सुनाउनुभयाे ।

गाउँका धेरै बाख्रा पालक कृषकले खोर बनाउने योजना बनाएका थिए । मल्ल स्थानीय दिप्का बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहकी अध्यक्ष हुन् । ३० जना महिला आवद्ध रहेको समूहका सदस्यहरु उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताउनुभयाे ।

वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेको वडा अध्यक्ष छविलाल आलेले जानकारी दिनुभयाे । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेको ‘वालिङ कृषि विकास परियोजना’ मार्फत आधुनिक खोर निर्माण गरिएको आलेले बताउनुभयाे । उहाँका अनुसार कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको आधुनिक खोर निर्माण गरेका हुन् ।

बाख्राको नश्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं.१ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खँंणले बताउनुभयाे । । खाँणले भन्नुभयाे, “साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौं ।” वडाको पकेट क्षेत्र नै छुट्टाएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको प्रमुख खाँणको भनाई छ ।

बाख्रा पालनलाई ब्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताउनुभयाे । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रुपमा सबल बनाउने पालिकाको योजना रहेको सुबेदीले बताउनुभयाे ।

नगरपालिकाले सञ्चालन गरिरहेको परियोजना मार्फत वडा नं.४, ५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बश्यालले जानकारी दिनुभयाे । आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रा पाल्ने तरिका, हेरचाह र सरसफाई सम्वन्धी जानकारी दिदै आएको बश्यालले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार