क्रान्ति अर्याल
स्याङ्जा ,३ जेठ। शिक्षा सबैका लागि हो भन्ने भावनालाई आत्मसात् गर्दै गल्याङ नगरपालिकाले आर्थिक अवस्था कमजोर भएकाहरूलाई उच्च शिक्षाबाट वञ्चित हुन नदिन विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक अभावका कारण पढाइ छाड्न बाध्य नहुन भन्ने उद्देश्यले पालिकाले यस वर्ष १९१ जना विद्यार्थीलाई छात्रवृत्ति तथा मासिक शुल्क सहायता उपलब्ध गराएको हो ।
पालिका भित्रका दुई प्रमुख शैक्षिक संस्थाहरू गल्याङ बहुमुखी क्याम्पस र मालुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षका लागि जनही १० हजार ८ सय रुपैयाँ बराबरको मासिक शुल्क सहयोग गरिएको छ । यस्तै कक्षा ११ र १२ मा अध्ययनरत ९९ जना विद्यार्थीलाई जनही ३ हजार ६ सय रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ ।
कुल १२ लाख १७ हजार ८ सय रुपैयाँ बराबरको यो छात्रवृत्ति कार्यक्रम अन्तर्गत क्याम्पस तहका ७० जनाले पूर्ण शुल्क छुट पाएका छन् भने अति विपन्न २ जना र माध्यमिक तहका ९९ विद्यार्थी लाभान्वित भएका छन् ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले २०७९ मा पदभार सम्हालेको सुरुको समयमा नै शिक्षामा पहुँच सुनिश्चित गर्ने निर्णय गरेको बताउदै त्यो निर्णय व्यवहारमा रूपान्तरण भएको बताउनुभयो । उहाँले छात्रवृत्तिको पुनः निरन्तरताको शर्त विद्यार्थीको अध्ययन प्रगतिमा आधारित हुने बताउनुभयो । त्यस्तै उत्तीर्ण विद्यार्थीले मात्र पुनः छात्रवृत्तिको लाभ पाउने समेत बताउनुभयो ।
त्यसैगरी छात्रवृत्ति योजनाको कार्यान्वयन प्रक्रिया अत्यन्त पारदर्शी बनाइएको र सम्बन्धित विद्यालय वा क्याम्पसले विद्यार्थीबाट आवेदन संकलन गरी पालिकामा सिफारिस गर्ने र त्यसपछि छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख हिमाल भण्डारीले जानकारी दिनुभयो ।
शिक्षामा पहुँच बढाउँदै समावेशी विकासको बाटोमा अग्रसर गल्याङ नगरपालिकाको यो प्रयासले दीर्घकालीन शैक्षिक रुपान्तरणमा टेवा पुर्याउने विश्वास गरिएको छ ।