पूजा खड्का
स्याङ्जा,१४ असार । जिल्ला प्रहरी कार्यालय स्याङ्जा भन्ने बित्तिकै चर्चामा आइहाल्ने प्रहरी हवल्दार युवराज तिमिल्सिनालाई उत्कृष्ट प्रहरीको पुरस्कार प्रदान गरिएको छ ।
फरार प्रतिवादी पक्राउमा देशमै उच्च स्थानमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यरत प्रहरी हवल्दार तिमिल्सिनालाई असार ६ गते गण्डकी प्रदेश कार्यालय पोखरामा एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटी हुँदा एकैपटक १ सय १४ फरार प्रतिवादी पक्राउ गरेर राष्ट्रिय रूपमा जिल्ला चर्चामा आउँदा जिल्लामा उत्कृष्ट काम गरेको भन्दै बोगटीकै हातबाट पुरस्कृत हुनुभएका तिमिल्सिना जिल्ला हुँदै प्रदेशमै उत्कृष्ट प्रहरी हवल्दार बन्नु भएको हो । उहाँलाई जेठ महिनाको उत्कृष्ट प्रहरी हवल्दार घोषणा गरिएको हो ।
हवल्दार तिमिल्सिनाले २०८२ साल जेठ महिनामा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १२ जना कसुरदार र चोरीमा संलग्न एकजना व्यक्ति लाई पक्राउ गरी फैसला कार्यान्वयन तथा चोरी नियन्त्रण गर्ने कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गरी कानुनी दायरामा ल्याउन सफल भएको स्पष्ट पारिएको छ।
उक्त कार्यहरुको मूल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवल्दार तिमिल्सिनालाई ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम २०८२ साल जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
वि. सं. २०७८ सालदेखि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत हवल्दार तिमिल्सिनाले जिल्लामा लागुऔषध ओसारपोसार नियन्त्रण, अवैध हात हतियार बरामद, फरार प्रतिवादी पक्राउ लगायतका कामहरूमा जिम्मेवारीपूर्वक नेतृत्वदायी भूमिका सहित सूचना व्यवस्थापन, प्रहरी सर्वसाधारण बिच प्रभावकारी समन्वयमा सक्रिय रहेकोे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।