प्रधानमन्त्री क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३० रनले हरायो

२०८० पुष ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३० रनले हराएको छ ।

जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी प्रदेशको यो दोस्रो जित हो । दुई खेलमा भने लुम्बिनी प्रदेश पराजित भएको छ । चार खेल खेलेको कर्णाली प्रदेशको भने यो लगातार चौथो हार हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय तीन रनमात्र बनाउन सक्यो ।

यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले पहिलो जित हात पारेको छ । गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित हात पारेको हो । मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अलआउट भएको हो । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । सृष्टि जैशीले ३४ बलमा १ चौकासहति १५ रन बनाइन् भने अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।

यसैगरी प्रतियोगिताम सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।

प्रतियोगिताको अर्कोे खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । सोमबारको नतिजापछि एपीएफ क्लब जारी प्रतियोगितामा आफूले खेलेका चारवटै खेल जित्ने एकमात्र टोली पनि बनेको छ । एपीएफसँग पराजित भएपछि कोशीको विजयी यात्रा टुंगिएको छ । कोशीले तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा दुई विकेट गुमाएर ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले १७.३ ओभरमा केवल दुई विकेट गुमाएर ९० रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय