बढ्दो विद्युत महसुल फिर्ता गर्न आन्दोलन थप चर्किँदै

२०८१ जेष्ठ ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

संगम भण्डारी
स्याङ्जा,८ जेठ । बुटवल पावर कम्पनीले विद्युत महसुलमा भारी वृद्धि गरेपछि आन्दोलन थप बढ्दै गएको छ । बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले महसुस बढाएकोमा उपभोक्ताहरू थप आन्दोलित बनेका छन् । प्रभावित ६ पालिकाका राजनीतिक दल तथा सरकारवाला एकजुट भएर आन्दोलन गरेपछि आन्दोलन थप चर्किँदै गएको हो ।

आइतबार नेपाली काङ्ग्रेसका गल्याङ नगर समिति सभापति श्याम प्रसाद बस्यालको संयोजकत्वमा विद्युत शुल्क वृद्धि फिर्ता सङ्घर्ष समिति गठन गरेको गरिएको छ । सोमबार सङ्घर्ष समितिले बुटवल पावर कम्पनी आँधिखोला वितरण केन्द्रको कार्यालय गल्याङ बजारमा धर्ना दिएको छ । संघर्ष समितिको सहसयोजकमा नेकपा एमालेका गल्याङ नगर समितिका अध्यक्ष दानबहादुर थापा उपाध्यक्षहरूमा नेकपा माओवादी केन्द्रका प्रतिनिधि अर्जुन श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका गल्याङ नगर सभापति टिकाराम भण्डारी, नेकपा एकीकृत समाजवादीका गल्याङ नगर समिति अध्यक्ष गोपालप्रसाद अर्याल, राप्रपा प्रतिनिधि धर्मराज न्यौपाने, क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रतिनिधि लालबहादुर राना र जनता पार्टीका गल्याङ नगर अध्यक्ष पदम गाह रहनुभएको छ।

यसै संघर्ष समितिकाे सचिवमा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष अर्जुन रानाभाट र सहसचिवमा गल्याङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम श्रेष्ठ हुनुहुन्छ। कोषाध्यक्षमा कालीगण्डकी यातायात प्रा.ली.का अध्यक्ष भीमलाल अर्याल रहनुभएकाे छ । गल्याङ बजारका विभिन्न संघसंस्था, युवा क्लब, तथा अगुवा व्यवसायहरू समेटेर ३१ सदस्य समिति बनाइएको छ। सङ्घर्ष समितिले आन्दोलनलाइ अझै सहशक्त बनाउने निर्णय गरेको छ। सङ्घर्ष समितिले मङ्गलबार पनि दिउँसो १ बजे धर्ना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

बुटवल पावर कम्पनीले बढाएको शुल्क फिर्ता गर्न माग गर्दै गल्याङमा बृहत धर्ना हुदै अाएकाे छ । धर्नामा विभिन्न राजनीतिक दल सङ्घसंस्था तथा आम नागरिकको बाक्लो उपस्थिति रहेको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै गल्याङ नगरपालिकाका संस्थापक नगर प्रमुख भूपराज अधिकारीले बुटवल पावर कम्पनीले अन्यायपूर्ण ढंगले शुल्क वृद्धि गरेको भन्दै तत्काल निर्णय फिर्ता गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालले कुनै पनि हालतमा शुल्क वृद्धिको निर्णय फिर्ता गराएरै छाड्ने बताउनुभयो । नेकपा एमाले गल्याङ नगर समिति अध्यक्ष दानबहादुर थापाले शुल्क वृद्धिको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले बुटवल पावर कम्पनी घाटामा गएको बहाना मात्र भएको भन्दै घाटामा भए स्थानीयलाई जिम्मा दिएर फर्किन चेतावनी दिएको थिए । विद्युत शुल्क बढ्दा कुनै एक पक्षलाई मात्र नभई आम जनतालाई नै त्यसको असर पर्ने भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता गर्नुको विकल्प नभएकोमा उपभोक्ताहरूले जोड दिएका छन् । जुनसुकै बहानामा पनि शुल्क वृद्धि नमान्ने बताएका छन्। चेम्बर अफ कमर्सका महासचिव भीमलाल भण्डारीकोले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षतामा गल्याङ चेम्बरअफ कमर्सका अध्यक्ष अर्जुन रानाभाटले गर्नुभएको थियो ।

बुटवल पावर कम्पनीले यसअघिको मूल्यमा ३९ देखि ६५% सम्म शुल्क बढाएपछि सङ्घर्ष समितिले बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्रको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । गल्याङ कार्यालयमा सोमबार ध्यानाकर्षण पत्र बुझाउँदै शुल्क वृद्धि गरेको निर्णय फिर्ता गर्न माग गरेको छ। सङ्घर्ष समितिका अध्यक्ष तथा नेपाली कांग्रेसका गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालको नेतृत्वमा पुगेको टोलीले बुटवल पावर कम्पनी गल्याङ शाखाका प्रमुख डोल खरेललाई बढेको मूल्य मान्य नहुने भन्दै तत्काल शुल्क वृद्धिको निर्णय फिर्ता गर्न माग गरेको थियो । सो अवसरमा नेकपा एमालेका गल्याङ नगर कमिटिका अध्यक्ष दानबहादुर थापाले समय छँदै शुल्क घटाउने निर्णय गरेर क्षति कम गर्न समेत चेतावनी दिनुभयो । सो अवसरमा बोल्दै बुटवल पावर कम्पनी गल्याङ शाखाका प्रमुख खरेलले शुल्क बढाउनु कम्पनीको बाध्यता भएको दाबी गर्नुभयो । उहाँले सङ्घर्ष समितिले राखेको मागलाई केन्द्रमा पठाउने पनि बताउनुभयो ।

यसै संघर्ष समितिले सोमबार नै गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईलाई भेटेर ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै  शुल्क वृद्धिको निर्णय आम नगरवासीको लागि आपत्तिकाे विषय भएको र मूल्य मान्य नहुने भएकाले कार्यपालिकाबाट नै निर्णय गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार